बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु

बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी : दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको दोस्रो ठूलो सहर 'एल आल्टो'मा एउटा सैन्य कार्गो विमान दुर्घटना हुँदा कम्तीमा ११ जनाको ज्यान गएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले स्थानीय दमकल अधिकारीहरूलाई उद्धृत गर्दै यस घटनाको पुष्टि गरेका छन्।

बोलिभियाको एयर ट्राफिक कन्ट्रोल अथोरिटीका अनुसार यो दुर्घटना शुक्रबार स्थानीय समयानुसार बेलुका ६:२० बजे भएको हो।

सान्ता क्रुज सहरबाट उडेको उक्त विमान एल आल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो।

अवतरणका क्रममा विमान धावनमार्ग (रनवे) बाट चिप्लिएर नजिकैको राजमार्गमा पुगेको र त्यहाँ रहेका सवारीसाधनहरूसँग ठोक्किएको बताइएको छ।

दुर्घटनालगत्तै उद्धार कार्य अघि बढाइएको छ। अहिले उक्त विमानस्थल बन्द गरिएको छ भने दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको अधिकारीहरूले जनाएका छन्।

फागुन १६, २०८२ शनिबार ०८:०९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।