आणविक वार्ता निष्कर्षविहीन भएपछि अमेरिकासहित विभिन्न देशहरूद्वारा आफ्ना नागरिकलाई तत्काल इरान छाड्न आग्रह
एजेन्सी : जेनेभामा भएको आणविक वार्ता सम्झौताविना नै टुङ्गिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति असन्तुष्टि व्यक्त गरेका छन्। यद्यपि, इरानमाथि सैन्य आक्रमण गर्ने वा नगर्ने विषयमा आफूले अझै निर्णय गरिनसकेको उनले स्पष्ट पारेका छन्।
बिहीबार जेनेभामा भएको वार्ता निष्कर्षविहीन बनेपछि ट्रम्पले आफ्नो पहिलो प्रतिक्रिया दिँदै भने, ‘उनीहरूले हामीलाई जे दिनुपर्ने हो, त्यो दिन तयार नभएकोमा म खुसी छैन।’
अमेरिकी राष्ट्रपतिले आफू इरानविरुद्ध सैन्य बल प्रयोग गर्न नचाहने तर कहिलेकाहीँ ‘त्यसो गर्नुपर्ने बाध्यता’ आइपर्ने चेतावनी दिएका छन्। इरानले युरेनियम प्रवर्द्धन गर्न नपाउने उनको अडान छ।
इरान र इजरायल छाड्न विभिन्न देशको आग्रह
अमेरिकाले इरानमाथि आक्रमण गर्न सक्ने सम्भावना बढेसँगै शुक्रबार विभिन्न देशहरूले मध्यपूर्वमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी जारी गरेका छन्।
बेलायतले तेहरानस्थित आफ्नो दूतावासबाट कर्मचारीहरूलाई अस्थायी रूपमा फिर्ता बोलाएको छ र अति आवश्यक कामबाहेक इजरायल भ्रमण नगर्न सुझाव दिएको छ।
चीन, भारत र क्यानडाले आफ्ना नागरिकलाई जतिसक्दो चाँडो इरान छाड्न आग्रह गरेका छन्। जर्मनी र फ्रान्सले पनि इजरायलको यात्रा नगर्न कडा चेतावनी दिएका छन्।
यसैबीच, अमेरिकाले आफ्ना नागरिकलाई इरान तत्काल छाड्न भनेको छ। इजरायलस्थित अमेरिकी दूतावासले पनि आफ्ना गैर-अत्यावश्यक कर्मचारी र तिनका परिवारलाई व्यावसायिक उडान चालू रहँदै देश छाड्न सुझाव दिएको छ।
इजरायलका लागि अमेरिकी राजदूत माइक हकबीले दूतावासका कर्मचारीहरूलाई इमेलमार्फत ‘आत्तिनुपर्ने अवस्था नरहे पनि बाहिरिन चाहनेले शुक्रबार नै योजना बनाउन’ आग्रह गरेका छन्। यसअघि अमेरिकाले लेबनानको राजधानी बेरुतस्थित दूतावासबाट पनि अत्यावश्यक बाहेकका कर्मचारी फिर्ता बोलाएको थियो।
मध्यपूर्वमा ठूलो सैन्य तैनाथी
सन् २००३ को इराक युद्धयताकै सबैभन्दा ठूलो अमेरिकी सैन्य फौज यतिबेला मध्यपूर्वमा तैनाथ छ। ट्रम्पले सम्झौता नभए सैन्य कारबाही गर्ने धम्की दिँदै आएका छन्। यस क्षेत्रमा लडाकु विमान, युद्धपोत र दुईवटा विमानवाहक जहाजसहित हजारौँ अमेरिकी सैनिक तैनाथ छन्।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले कूटनीतिक विकल्पलाई नै प्राथमिकता दिएको तर इरानको कदम हेरेर सैन्य आक्रमणको विकल्प खुला रहेको बताएका छन्। यद्यपि, अमेरिका लामो युद्धमा भने नफस्ने उनको भनाइ छ। ट्रम्पले गत फेब्रुअरी १९ मा इरानसँग सम्झौता हुन्छ वा सैन्य कारबाही हुन्छ भन्ने कुरा १० दिनभित्र थाहा हुने बताएका थिए।
वार्तामा ‘महत्वपूर्ण प्रगति’ भएको दाबी
वार्ताको मध्यस्थता गरिरहेको ओमानका विदेशमन्त्री बद्र अलबुसैदीले जेनेभा वार्तामा महत्वपूर्ण प्रगति भएको दाबी गरेका छन्। उनका अनुसार इरान प्रवर्द्धित युरेनियम भण्डारण नगर्न सहमत भएको छ।
‘यदि भण्डारण नै गर्न पाइँदैन भने बम बनाउने सम्भावना नै रहँदैन’,अलबुसैदीले सीबीएस न्युजसँग भने।
इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि वार्तामा राम्रो प्रगति भएको तर केही विषयमा मतभेद बाँकी रहेको बताएका छन्। दुवै पक्ष आफ्नो राजधानीमा परामर्श गरेपछि आगामी साता भियनामा प्राविधिक तहको वार्ता गर्न सहमत भएका छन्।
वासिङ्टन र यसका सहयोगी राष्ट्रहरूले इरानले आणविक हतियार बनाउन खोजेको आशंका गर्दै आएका छन् भने इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ।
आणविक केन्द्रमा अनुगमन गर्न दिइएन: आइएइए
गत जुन महिनामा अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रमा बम खसालेपछि आफूले युरेनियम प्रवर्द्धन रोकेको इरानको दाबी छ। ट्रम्पले त्यतिबेला ती केन्द्रहरू 'ध्वस्त' पारेको बताएका थिए।
तर, संयुक्त राष्ट्रसंघीय आणविक एजेन्सीले शुक्रबार एक गोप्य प्रतिवेदन जारी गर्दै जुनयता आफूलाई ती केन्द्रहरूको अनुगमन गर्न नदिइएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। बिना ढिलाइ आफ्ना कर्मचारीलाई ती केन्द्रको अनुगमन गर्न दिनुपर्ने एजेन्सीको माग छ।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियो सोमबार इजरायल भ्रमणमा जाँदैछन्, जहाँ उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग इरानलगायत क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्नेछन्।
रुबियोले शुक्रबार मात्रै इरानलाई "नागरिकहरूलाई अन्यायपूर्ण रूपमा बन्धक बनाउने राज्य" घोषणा गर्दै नयाँ अधिकार प्रयोग गरी प्रतिबन्ध लगाउन सक्ने बाटो खुला गरेका छन्।
फागुन १६, २०८२ शनिबार ०७:२९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।