पश्चिमी वायुको प्रभावले पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी हिमाली र पहाडी भेगमा आंशिक बदली छ।

तराईको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज बिहानीपख तराईका केही स्थानमा हुस्सु लागे पनि दिउँसो भने मौसम मुख्यतया सफा रहनेछ।

दिउँसो कोशी प्रदेशसहित देशका बाँकी हिमाली भू-भागमा साधारणतया र अन्य पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

बाँकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा पनि हल्का हिमपात हुन सक्नेछ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने ती प्रदेशका पहाडीसहित बाँकी हिमाली भेगमा आंशिक बादल लाग्नेछ।

देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा तराईका थोरै स्थानहरूमा तुँवालो लाग्न सक्ने पनि महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

फागुन १६, २०८२ शनिबार ०७:०७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।