दमौलीमा रविलाई देखाइयो कालो झण्डा, सात जना पक्राउ
काठमाडौं : तनहुँको दमौलीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कालो झण्डा देखाइएको छ। चुनावी कार्यक्रममा सहभागी हुन पुगेका लामिछानेलाई उज्यालो नेपाल पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।
चितवनको कार्यक्रम सकेर लामिछाने शुक्रबार दमौली पुगेका थिए। उनीसँगै सोही क्षेत्र (तनहुँ-१) का रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्ले पनि कार्यक्रमस्थल जाँदै थिए। सोही क्रममा उज्यालो नेपाल पार्टीका दर्जनौं कार्यकर्ताले बाटो छेकेर विरोध प्रदर्शन गरेका थिए।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) टेकबहादुर कार्कीका अनुसार कालो झण्डा देखाउने र निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उज्यालो नेपाल पार्टीका सात जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ। उनले नियन्त्रणमा लिइएकाहरूलाई कारबाहीका लागि निर्वाचन आयोगको जिम्मा लगाउने तयारी रहेको बताए।
प्रदर्शनकारीले बाटो छेकेपछि प्रहरीले भिड पन्छाएर बाटो खुलाउने क्रममा सामान्य बल प्रयोग गरेको थियो। प्रहरीसँगको झडपमा एक जना घाइते भएको जनाइएको छ। आफ्ना कार्यकर्ता पक्राउ परेको विरोधमा उज्यालो नेपाल पार्टीका समर्थकहरूले पृथ्वी राजमार्गमा प्रदर्शन गरेका छन्।
उनीहरूले पक्राउ परेकालाई छाड्न माग गर्दै सडकमै सुतेर र माइकिङ गरेर विरोध जनाएका थिए। तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाबाट डा. स्वर्णिम वाग्ले र उज्यालो नेपाल पार्टीबाट मञ्जिल थापा उम्मेदवार रहेका छन्।
फागुन १५, २०८२ शुक्रबार २१:४४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।