प्रचण्डको आग्रह- 'निर्वाचनलाई सामान्य प्रक्रिया मात्र नसम्झनुस्'

प्रचण्डको आग्रह- 'निर्वाचनलाई सामान्य प्रक्रिया मात्र नसम्झनुस्'

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रियाका रूपमा मात्र नलिन आग्रह गरेका छन्। उनले अहिलेको चुनावलाई राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताए।

शुक्रबार नेकपाको नुवाकोट-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचनलाई लामो संघर्षबाट प्राप्त अधिकार र उपलब्धिहरूको संरक्षणसँग जोड्नुपर्नेमा जोड दिए।

उनले भने, "यो निर्वाचनलाई हामी कसैले पनि सामान्य रूपमा लिनुहुँदैन। यो राष्ट्र, लोकतन्त्र र गणतन्त्र बचाउने तथा लामो संघर्षबाट प्राप्त महिलाका, दलितका, आदिवासी जनजातिका, मधेशी, मुस्लिम, थारु, मजदुर र किसानका अधिकारहरूको रक्षा गर्ने विषयसँग जोडिएको छ।"

प्रचण्डले निर्वाचनलाई राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकार रक्षाको सवालका रूपमा चित्रण गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय हुन निर्देशित गरे। उनले भने, "यो निर्वाचन राष्ट्रको स्वाधीनता, नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्नको लागि जीवन मरणको संघर्षको रूपमा अगाडि आएको छ।"

उनले संविधानको रक्षा र जनअधिकारका लागि नै नेकपाको पुनर्गठन गरिएको बताए। उनले थपे, "अहिले साना ठूलागरि दुई दर्जन पार्टी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ, यो राष्ट्रलाई एकतावद्ध गर्न राष्ट्रको स्वाधीनता जनताको अधिकारको रक्षाका लागि नेकपा गठनको पहल गरेका हौं।"

फागुन १५, २०८२ शुक्रबार १७:०७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।