युवाको आक्रोशलाई गाली होइन, संवादले चिर्नुपर्छ : गगन थापा
बुटवल : नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र आर्थिक चुनौतीहरूलाई चिर्दै सबै पक्षलाई समेटेर अघि बढ्ने तागत कांग्रेसमा मात्रै रहेको दाबी गरेका छन्।
शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय मुद्दामा अन्य दलहरूलाई समेत सहमतिमा ल्याएर देशलाई निकास दिन कांग्रेस सक्षम रहेको बताए। उनले देशको बदलिँदो परिस्थितिमा कांग्रेसले आफूलाई सुधार गर्दै अघि बढाएको समेत उल्लेख गरे।
नागरिकका आधारभूत आवश्यकता र ग्रामीण अर्थतन्त्रको जग बलियो बनाउन कांग्रेससँग स्पष्ट मार्गचित्र रहेको बताउँदै उनले भने, "किसानका खेतमा मल पुर्याउनेदेखि पहाडका बाँदर धपाउनेसम्म टिम बनाएर अध्ययन गरेर जनताका माझ मत माग्न आएको हुँ। सामाजिक सञ्जालमा अड्केर नबस्नुहोस्, घर-घरमा जानुहोस् हाम्रो बारेमा सबै कुरा गर्नुहोस्।"
थापाले निर्वाचनको समयमा पार्टीका उम्मेदवारले गरेका व्यक्तिगत मेहनतलाई परिणाममा बदल्न नेता-कार्यकर्ताहरूलाई आग्रह गरे। उनले भने, "हाम्रो सबैभन्दा ठूलो ताकत भनेको संगठनको ताकत हो। तपाईंको गोडा चलाउनुस्, घर-घर पुग्नुस्। तपाईंको हात चलाउनुस्, गएर ढोग्नुस्। तपाईंको मुख चलाउनुस्, गएर संवाद चलाउनुस्। नौजवानहरूको कुरा सुन्नुस्।"
पछिल्लो समय युवा पुस्तामा देखिएको असन्तुष्टि र आक्रोशलाई कांग्रेसले सकारात्मक रूपमा लिँदै उनीहरूलाई बुझाउनुपर्ने थापाको भनाइ थियो। उनले भने, "उनीहरूले पहिला दुई लाइन गाली गर्लान्। उनीहरूसँग राम्रोसँग संवाद गर्नुस्। उनीहरूलाई बताउनुस् भन्नुस्- यो कांग्रेस अधिवेशनबाट एउटा संकल्प गरेर आएको छ।"
विगतका कमजोरी स्वीकार्दै नयाँ ढंगले अघि बढ्ने प्रतिज्ञा गर्दै उनले थपे, "हिजोका तमाम सबै राम्रा कुराहरूलाई बोक्छु, हिजोका तमाम खराब कुरालाई छोड्छु भनेर एउटा नयाँ संकल्प गरेर आएको छ। यो कांग्रेसले एउटा मौका पाउनुपर्छ। यो कांग्रेसले ५ वर्षभित्र परिणाम दिने संकल्प मात्र होइन, एउटा प्रतिज्ञा गरेर आएको छ। यो कांग्रेसले मौका पाउनुपर्छ।"
थापाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिने 'उत्तेजनाको राजनीति' बाट सचेत रहन आम नागरिकलाई आग्रह गरे। उनले भने, "हामी उत्तेजनाको राजनीतिमा धेरै नबहकिऊँ। यो टेलिफोनले धेरैलाई झुक्क्याएको छ। बेलुका घर गएर हेर्दाखेरि तपाईंले हेरेको युट्युबले, तपाईंले हेरेको फेसबुकले धेरैलाई झुक्क्याएको छ। धेरै भ्रममा नपरौं।"
फागुन १५, २०८२ शुक्रबार १६:५४:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।