देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भयो, अब चल्नुपर्छ : बालेन

देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भयो, अब चल्नुपर्छ : बालेन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मुलुकको औद्योगिक अवस्था सुधारका लागि उत्पादन र बजारीकरणको प्रभावकारी संयन्त्र आवश्यक रहेको बताएका छन्।

शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुशासन र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिए। बालेनले देशको औद्योगिक अवस्थालाई हेटौँडा सिमेन्ट कारखानासँग तुलना गरे। 

उनले भने, "हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ। मेसिन छ, कारखाना छ, खानी छ। उद्योग, स्रोत-साधन पनि छ। तर, बन्द छ। त्यो चल्नुपर्यो।"

चितवनको पर्यटन प्रवर्द्धन शैली सिङ्गो देशका लागि सिकाई भएको उल्लेख गर्दै बालेनले भने, "मेसीलाई फुटबल खेल्न सिकाउनु पर्छ र ? त्यसैगरी चितवनलाई कसैले पर्यटन प्रवर्द्धन सिकाउनु पर्दैन, बरु चितवनले चाहिँ सिङ्गो देशलाई कसरी पर्यटन प्रवर्द्धन गर्ने भनेर सिकाउनुपर्छ। घरमा खाने आफ्नो लोकल परिकारलाई एउटा इन्टरनेसनल क्युजिनको रूपमा जसरी उहाँहरूले प्रस्तुत गर्न सक्नुभएको छ, त्यो पुरै देशले सिक्न जरुरी छ।"

कृषि क्षेत्रमा देखिएका समस्याबारे उनले सीमित व्यक्तिको सिण्डिकेट जिम्मेवार रहेको आरोप लगाए। उनले भने, "केही सीमित बिचौलिया, सीमित नेताहरूको सिण्डिकेटले गर्दा यस्तो भइरहेको हो। यस्तो भ्रम रोक्न जरुरी छ। नेपालमै उत्पादन भएको सस्तो बिजुलीलाई नेपालकै सस्तो कोल्ड स्टोरमा सिजनको बेला जुन समयका तरकारी सस्तो हुन्छ, त्यो बेला स्टोर गरेर राखियो भने महंगी हुने सिजनमा सेम मूल्यमा बेच्न सकिन्छ। किसानले पनि मूल्य पाउँछ, खाने मान्छेले पनि सस्तोमा किन्न सक्छ, त्यो गर्न चाहन्छौं हामी।"

एउटा जिल्लाको समस्या अर्को जिल्लामा समाधान हुने सम्भावना रहेको उल्लेख गर्दै उनले भने, "एउटा जिल्लामा भएको समस्या अर्को जिल्लामा समाधान हुने रहेछ। त्यसलाई बुझेर समाधान गर्ने पार्टी बन्न चाहन्छ रास्वपा।"

फागुन १५, २०८२ शुक्रबार १६:३५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।