सिंहदरबार तिनैले जलाए, जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाए : रवि लामिछाने

सिंहदरबार तिनैले जलाए, जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाए : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालबालिकालाई गोली हानिएपछि सिंहदरबार जलेको बताएका छन्। 

शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राज्य पक्षबाट पहिले गोली चलाइएका कारण संरचनाहरूमा क्षति पुगेको दाबी गरे।

"हामी सम्बद्ध कतिपय मानिसहरूलाई देश जलाउने भनेर आरोप पनि लगाइएको छ। म भन्न चाहन्छु- पहिले आन्दोलनमा आएकाहरूलाई ताकीताकी गोली हानियो। अनि मात्रै संरचनामा आगो लगाइएको हो," लामिछानेले भने, "जल्नुहुँदैन थियो।  गलत भयो। तर गोली ठोक्नु हुँदैन थियो। मान्छे मार्नु हुँदैन थियो। त्यहीँबाट बिग्रिएको हो।"

सिंहदरबारभित्रको बेथिति र भ्रष्टाचारका कारण नागरिकहरू सडकमा उत्रिनुपरेको भन्दै उनले जलाउने र गोली हान्ने एउटै रहेको जिकिर गरे। उनले अगाडि भने, "सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनायो। सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो। एउटै मानिसहरू हुन्। एउटै जात छ उनीहरूको।"

लामिछानेले आफूहरूले सुशासनको नयाँ मानक खडा गर्ने बताउँदै अबको गन्तव्य आर्थिक आत्मनिर्भरता हुनुपर्नेमा जोड दिए। उनले भने, "हामीले मागी खाने देश बनाउने होइन, गरी खाने देश बनाउने हो। हामी सिंहदरबार बनाउँछौं पनि, बदल्छौं पनि।"

पुराना राजनीतिक दलहरूलाई सत्ताबाट निष्क्रिय बनाउनुपर्ने उल्लेख गर्दै उनले चितवनले सुरु गरेको परिवर्तनको अभियानलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए। रास्वपाले सिंहदरबारको अवस्था सुधार्ने र देशलाई सुशासनको बाटोमा लैजाने लामिछानेले प्रतिबद्धता गरे।

फागुन १५, २०८२ शुक्रबार १६:१७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।