चितवनको सभामा चर्को नारा लागेपछि बालेनले मञ्चबाट भने 'बोल्नै दिँदैनन् यार !'

चितवनको सभामा चर्को नारा लागेपछि बालेनले मञ्चबाट भने 'बोल्नै दिँदैनन् यार !'

चितवन : चितवनको सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले देशको समस्या समाधान गर्ने पार्टी बन्न चाहेको बताए। फरक पोशाकमा चितवनको सभामा सहभागी भएका उनले आफ्नो परिचित शैलीमा सामान्य जनजीवनको समस्याहरूलाई सम्बोधन गर्ने प्रयास गरे।

उनले सम्बोधनको प्रारम्भमै सभामा सहभागीहरूलाई मन पर्ने कलर के हो, अनि मन पर्ने बाजा के हो भनेर सोधेका थिए। अनि उत्तरमा मन पर्ने रंग नीलो अनि चुनाव चिन्ह घण्टीलाई बाजा भने। त्यसपछि उनले चितवनको घरहरूको छानाको प्रसङ्ग ल्याए।

प्लेनबाट चितवन आउँदा यहाँका घरको छतमा जस्ता राख्ने चलन रहेको र त्यो जस्ता पनि नीलो रङकै भएको बताउँदै भने" छाना सबै नीलो, जिस्काउन राखेको जस्तो। कसलाई जिस्काउन राखेको?"

उनले छतमा जस्ता राख्नुको कारण घर मक्किन नदिन हो भन्दै रास्वपा पनि देशलाई मक्किन नदिने पार्टी बन्न चाहेको बताए। उनले  आफू चितवन आउने थाहा पाएपछि त्यहाँ गएर टुरिजम प्रमोसन गर्न सल्लाह आएको बताउँदै उनले भने "मेस्सीलाई, रोनाल्डोलाई फुटबल खेल्न सिकाउनु पर्छ?"

उनले थारू समुदायले जसरी आफ्नो खाना र संगीतको प्रमोसन गरेको त्यो विश्वकै लागि उदाहरणीय भएको भन्दै अब चितवनले देशलाई र विश्वलाई टुरिजम प्रमोसन गर्न सिकाउनु पर्ने बताए। उनले चितवनमा हरेक वर्ष किसानले बाटोमा दूध र तरकारी फाल्ने गरेको र त्यसको कारण बिचौलिया र नेताका भएको भन्दै यसको समस्या समाधान गर्ने दाबी गरे।

उनले भारतबाट सस्तो तरकारी ल्याएर चितवनको तरकारी महँगो देखाएर भ्रम फैलाउने काम गरेको भन्दै 'अहो महँगो तरकारी खानु पर्ला भन्ने भ्रम दिने काम भएको भन्दै सस्तो बिजुलीलाई सस्तो कोल्डस्टोरमा राखेर तरकारी सस्तो बनाउन सकिने बताए।

उनले जसरी देशभरिका ट्रक र बसमा नारायणी लेखेको हुन्छ अब त्यसरी नै पूर्वदेखि पश्चिमसम्मको तरकारीको हब बन्न सक्ने बताए। उनले सम्बोधन गरिरहँदा सभामा भाषण सुन्न आएकाहरूले चर्को हुटिङ गरेपछि उनी केही बेर रोकिए। हुटिङ चर्किएपछि मञ्चबाटै "बोल्नै दिँदैनन् यार" भनेर रोकिए। तै पनि हुटिङ नरोकिएपछि "गीत बजाऊँ नाचौँ" भन्दै पुन योजना सुनाउन थाले।

उनले वर्षाको बेलामा बिजुली खेर जाने तर सुख्खामा बिजुलीको अभाव हुने भन्दै बिजुली स्टोर गरेर राख्नु पर्ने बताए। यो चुनावको क्रममा ७-८ हजार किलोमिटर देश घुमेको र देशभरका समस्या उस्तै रहेको भन्दै उनले भने "गुड न्युज, एउटा जिल्लामा समस्या छ भने त्यसको समाधान अर्को जिल्लामा रहेछ।" 

उनले देशको अवस्था र  हेटौंडा सिमेन्ट कारखानाको जस्तो भएको भन्दै भने "मेसिन छ, खानी छ तर कारखाना बन्द छ। त्यो नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्यो।"

फागुन १५, २०८२ शुक्रबार १५:५०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।