घोषणापत्रमा कला क्षेत्र : कलाकारको जम्बो टोली भएको रास्वपाको पूरै बेवास्ता, एमाले-कांग्रेसका आ-आफ्नै स्वार्थ!

घोषणापत्रमा कला क्षेत्र : कलाकारको जम्बो टोली भएको रास्वपाको पूरै बेवास्ता, एमाले-कांग्रेसका आ-आफ्नै स्वार्थ!

काठमाडौं : नेपालको राजनीतिक इतिहासलाई फर्केर हेर्ने हो भने जति पनि ठूला परिवर्तनहरू भएका छन्, ती सबैमा कला, साहित्य र संगीतको योगदान पाइन्छ।

चाहे त्यो २००७ सालमा प्रजातन्त्र ल्याउँदाको समय होस्, २०४६ सालको बहुदलीय व्यवस्थाको पुनर्वहाली होस्, या २०६२/६३ को ऐतिहासिक जनआन्दोलन हुँदै देशमा गणतन्त्र स्थापना गर्दाको बखत नै किन नहोस्- राजनीतिक दलहरूलाई जनताको घरदैलोसम्म पुर्याउने र जनलहर सिर्जना गर्ने प्रमुख अस्त्र भनेकै कलाकार र उनीहरूका सिर्जना हुन्।

नेपालका अधिकांश स्रष्टा र कलाकारहरू कुनै न कुनै राजनीतिक दलको वैचारिक धारसँग नजिक रहेका छन्। उनीहरूले आफ्नो स्वर, अभिनय र शब्दमार्फत पार्टीका आमसभाहरूमा भिड जुटाउनेदेखि लिएर नेताहरूलाई सदन र सिंहदरबारसम्म पुर्याउन भर्याङको काम गर्दै आएका छन्।

पञ्चायतकाल र त्यसपछिका कठिन दिनहरूमा कम्युनिष्ट विचार बोकेका वामपन्थी गीतहरू गाउँदै हिँड्ने जेबी टुहुरे, मनु मञ्जिल, माधव प्रधान, शम्भु राईलगायतका स्रष्टाहरू हुन् या तत्कालीन माओवादीको सशस्त्र जनयुद्धमा गाउँ-गाउँमा जनचेतना जगाउने जनवादी गायक तथा संगीतकारहरू हुन्; उनीहरूकै जोडबल, रगत र पसिनाको जगमा आजका राजनीतिक दलका शीर्ष नेताहरूले सत्ताको स्वाद चाखेका छन्।

नेताहरूले सत्ता र भत्ता खाएर आफ्नो जीवनयापनलाई अत्यन्तै सहज र विलासी बनाए, तर जसले गीत गाएर, नाचेर र नाटक देखाएर उनीहरूलाई त्यहाँसम्म पुर्याए, ती कलाकारहरूको अवस्था भने जस्ताको तस्तै रह्यो।

चुनावको बेला मञ्च तताउन प्रयोग हुने कलाकारहरू जब पार्टीले नीति र योजना बनाउने बेला आउँछ, तब सधैँ किनारामा धकेलिने गरेका छन्। यसपटकको चुनाव र दलहरूले सार्वजनिक गरेका संकल्प तथा घोषणापत्रहरूलाई सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने यो यथार्थ झनै छर्लङ्ग हुन्छ।

रास्वपामा कलाकारै कलाकार तर घोषणापत्रमा फुस्स
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा यतिबेला कलाकारहरूको आकर्षण र प्रवेश देखिएको छ। परम्परागत पार्टीहरूको तुलनामा यस पार्टीमा नेपालका निकै चर्चित, लोकप्रिय र मूलधारका कलाकारहरूको जम्बो टोली खुलेरै लागेका छन्।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको चुनावका लागि रास्वपाले चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत, अभिनेत्रीद्वय रीमा विश्वकर्मा र सफल अभिनेत्री लक्ष्मी बर्देवालाई समानुपातिक उम्मेदवार नै बनाएको छ। यसै पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका दाबेदारमध्ये एक बालेन्द्र शाह (बालेन) स्वयं एक र्यापर तथा गायक हुन्।

उनको समर्थनमा चलचित्र निर्देशक निश्चल बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का, हास्य कलाकार निर्मल शर्मा, ‘सक्किगोनि’ फेम्ड अर्जुन घिमिरे (पाँडे) लगायतका थुप्रै कलाकारहरूको ठूलो टिम नै रास्वपाको पक्षमा उभिएको छ।

तर विडम्बना!, जुन पार्टीमा यति धेरै कलाकारहरूको लर्को छ र जसको नेतृत्व तहमा नै कला क्षेत्रबाट आएका व्यक्ति छन्, त्यही पार्टीले आफ्नो चुनावी घोषणापत्रमा कलाकार र कला क्षेत्रका लागि एक शब्द पनि खर्चिएको छैन।

रास्वपाको वाचा पत्रमा स्वास्थ्य, शिक्षा, खेलकुददेखि लिएर पूर्वाधारसम्मका अनेकौं विषयले प्राथमिकताका साथ ठाउँ पाएका छन्, तर देशको मौलिकता, संस्कृति र मनोरञ्जन उद्योगलाई हाँक्ने ‘कला र कलाकार’ अटाउन सकेनन्।

कांग्रेसका लागि कला क्षेत्र पर्यटन प्रवर्द्धनको साधन
अर्कोतर्फ, देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले सार्वजनिक गरेको ‘प्रतिज्ञापत्र’ मा भने कलाकार र कला क्षेत्रलाई थोरै भए पनि स्थान दिइएको छ।

यद्यपि, कांग्रेसले कलालाई विशुद्ध कला वा संस्कृतिको जगेर्ना गर्ने दृष्टिकोणले भन्दा पनि ‘पर्यटन प्रवर्द्धन’ को एउटा साधनका रूपमा बढी अर्थ्याएको देखिन्छ।

कांग्रेसको चुनावी प्रतिज्ञापत्रमा प्रस्ट रूपमा भनिएको छ, ‘कलाकार र शिल्पकारहरूलाई प्रोत्साहन गर्न राष्ट्रिय कला कोष र बजारको व्यवस्था गर्छौं।’

विविधताले समृद्ध हाम्रो चलन, प्रचलनहरूलाई मौलिक उत्सव र लोककलाको सम्मानको नारासहित संरक्षण र संवर्द्धन गरिने कांग्रेसको दाबी छ।

प्रतिज्ञापत्रमा अगाडि लेखिएको छ, ‘हामी नेपाली उत्सव र जात्राहरूको अन्तर्राष्ट्रिय क्यालेन्डर बनाई विश्वव्यापी बजारीकरण गर्छौं। युनेस्को सम्पदा क्षेत्रमा परम्परागत कला झल्किने ‘इन्टरप्रिटेटिभ भिलेज’ निर्माण गर्छौं।

विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमार्फत रैथाने खाना, भेषभूषा र संगीतको प्रवर्द्धन गर्छौं। हस्तकलालाई पर्यटन आपूर्ति शृङ्खलासँग जोड्दै ऐतिहासिक गढी, किल्ला र दरबारहरूको संरक्षण गर्छौं।’

यसरी कांग्रेसले संगीत र कलाको प्रवर्द्धन गर्ने विषयलाई नीतिगत रूपमै लिपिबद्ध गरे पनि यसको मुख्य ध्येय पर्यटनसँग जोडिएको स्पष्ट हुन्छ।

एमालेको घोषणापत्रमा ट्राभल ब्लगर र इन्फ्लुएन्सरका कुरा
यस्तै, एमालेको कुरा गर्ने हो भने, यस पार्टीको जनवर्गीय सङ्गठनका रूपमा रहेको सांस्कृतिक महासङ्घमा देशभरका हजारौँ कलाकारहरू आबद्ध छन्। एमालेको मञ्चमा प्रस्तुति नदिने सायदै कुनै चलेका कलाकार होलान्।

तर, चुनावका बेला सार्वजनिक गरिएको ‘एमालेले बनाउँछ’ नामक चुनावी एजेण्डा र घोषणापत्रमा भने कला क्षेत्रलाई निकै साँघुरो दायरामा खुम्च्याइएको छ।

एमालेले पनि कांग्रेसले झैँ कला र चलचित्रलाई पर्यटनसँग मात्र लगेर जोडेको छ। कलाकारहरूको हकहित, प्रतिलिपि अधिकार, बक्स अफिस प्रणाली वा रोयल्टीका विषयमा एमालेको दस्ताबेज मौन छ।

एमालेको एजेण्डामा भनिएको छ, ‘पर्यटकको वृद्धि, लामो बसाइ-गाउँ, सहरमा काम र कमाइ अन्तर्गत सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय ट्राभल ब्लगर, इन्फ्लुएन्सर, वृत्तचित्र र चलचित्रमार्फत नेपालका विविध पर्यटन गन्तव्य, क्षेत्र र अनुभवहरूको आक्रामक प्रचार-प्रसार गर्नुका साथै यस कार्यमा नेपाली डायस्पोराको समेत सक्रिय सहभागिता सुनिश्चित गर्नेछौं।’

एमालेले पनि चलचित्र र वृत्तचित्रलाई गन्तव्य चिनाउने विज्ञापनको साधन मात्र मानेको छ, समग्र कला उद्योगको विकासको ठोस नीति उसँग पनि देखिएन।

नेकपाका लागि कलाकार ‘समाजको ऐना’
यी प्रमुख दलहरूको तुलनामा पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को चुनावी प्रतिबद्धतापत्रमा भने साहित्य, कला र कलाकारहरूलाई निकै राम्रो र फराकिलो स्थान दिइएको छ।

नेकपाले आफ्नो एजेण्डामा ‘साहित्य, कला र संस्कृति’ नामकै छुट्टै उपशीर्षक राखेर यसलाई ‘समाजको ऐना’ का रूपमा व्याख्या गरेको छ।

‘जनयुद्ध’कालदेखि नै सांस्कृतिक मोर्चालाई महत्त्व दिँदै आएको यस पार्टीले घोषणापत्रमा लेखेको छ, ‘समाजको ऐना मानिने साहित्य, कला र संस्कृतिको विकासमा विशेष ध्यान दिइनेछ। हाम्रा मौलिक कला, साहित्य, संस्कृति, लोकदोहोरी, गीत-संगीत र चलचित्रको संरक्षण एवं प्रवर्द्धन गर्न र विद्वान, वैज्ञानिक, विशेषज्ञ, कलाकार, साहित्यकार, संस्कृतिविद्लगायत राष्ट्रका प्रतिभाहरूको सम्मानसहित उनीहरूको प्रतिभालाई राष्ट्र निर्माणमा सदुपयोग गर्न पहल गरिनेछ।’

यति मात्र होइन, नेकपाले सांस्कृतिक चेतना बढाउने सर्जकहरूलाई राज्यले पुरस्कृत गर्ने विषयसमेत उठाएको छ।

एजेण्डामा अगाडि भनिएको छ, ‘सांस्कृतिक चेतना बढाउने लेखक, कवि, चलचित्रकर्मी, सञ्चारकर्मी, चित्रकार, मूर्तिकार, गीतकार, नर्तक-नृत्याङ्गनालगायत विविध विधाका कलाकारहरूका साथै नयाँ-नयाँ आविष्कार गर्ने वैज्ञानिक र प्राविधिकलाई पुरस्कृत गरी प्रोत्साहित गर्नका लागि आवश्यक पहल गरिनेछ।’

रेखा थापा नेतृ भएको पार्टीको घोषणापत्रमा कला क्षेत्रबारे मौन
उता, राजेन्द्रलिङ्देनको नेतृत्वमा रहेको हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोक्ने नेपालको अर्को पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ‘संकल्प पत्र’मा भने कलाकारको बारेमा एक लाइन शब्द पनि कतै भेटिँदैन।

नेपाली चलचित्र क्षेत्रकी कुनै समयकी एकछत्र राज गरेकी अभिनेत्री रेखा थापादेखि लिएर टेलिचलचित्रका हस्ती लय सङ्ग्रौलासम्मका कलाकारहरू राप्रपामा आबद्ध छन्।

अझ रेखा थापा त अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट राप्रपाको तर्फबाट प्रत्यक्षतर्फकी उम्मेदवार नै बनेकी थिइन् भने उनी पार्टीको केन्द्रीय महामन्त्रीको चुनावसमेत लडेकी थिइन्।

पार्टीको अग्रपङ्क्तिमा यस्ता चर्चित कलाकारहरू हुँदाहुँदै पनि पार्टीको संकल्प पत्रमा कला क्षेत्रको बारेमा कुनै नीति, योजना र कार्यक्रम समेटिएको छैन।

फागुन १५, २०८२ शुक्रबार १३:३६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।