महाराजगञ्ज प्रहरी वृत्तको १३४ घातक हतियारसहित १२ हजार गोली भण्डारणमा भएको थियो आगजनी, दुई जनाविरुद्ध मुद्दा

महाराजगञ्ज प्रहरी वृत्तको १३४ घातक हतियारसहित १२ हजार गोली भण्डारणमा भएको थियो आगजनी, दुई जनाविरुद्ध मुद्दा

काठमाडौं : भदौ २४ गते भएको जेनजी पुस्ताले गरेको आन्दोलन उग्र बन्दा काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा भएको तोडफोड, आगजनी र हतियार लुटपाटको घटनामा दुई जना युवाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले नुवाकोट घर भई हाल टोखा बस्ने २८ वर्षीय सुरेश रोक्का र सिन्धुली घर भई हाल वसुन्धरा बस्ने २६ वर्षीय देवराज स्याङबाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘आपराधिक उपद्रव’को कसुरमा अभियोगपत्र दायर गरेको हो।

बिहीबार दायर गरिएको यस मुद्दामा उनीहरूलाई ४ वर्षसम्म कैद र क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ।

के थियो घटना?
भदौ २४ गतेको जेनजी आन्दोलनको विधंश्व हुँदा हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरू महाराजगञ्जस्थित प्रहरी वृत्तको हाताभित्र प्रवेश गरी अण्डरग्राउण्डदेखि पाँचौं तलासम्मको भवनमा गम्भीर तोडफोड र आगजनी गरेका थिए।

भिडले सरकारी कार्यालयका गाडी, मोटरसाइकल र कार्यालयका महत्त्वपूर्ण कागजातहरू जलाएर नष्ट गरेको थियो।

घटनास्थल मुचुल्काअनुसार आन्दोलनकारीको आक्रमणबाट प्रहरीको ठूलो मात्रामा भौतिक सम्पत्ति र हतियार नष्ट भएको छ। भवनमा आगो लगाउँदा सिमेन्ट र प्लास्टर उप्किएको, झ्यालढोका जलेको र विद्युतीय उपकरणहरू पूर्ण रूपमा नष्ट भएका छन्।

मुचुल्कामा उल्लेख भएअनुसार ९४ थान सिलढाल, १४६ थान हेल्मेट, १९ थान बुलेटप्रुफ ज्याकेट, ११० थान बेतको लाठी र १४४ थान राइट कन्ट्रोल गियरलगायतका दंगा नियन्त्रण गर्ने सामग्रीहरू नष्ट भएका छन्। त्यस्तै, फर्निचर, ५५ थान कम्प्युटर/ल्यापटप र सिसिटिभी क्यामेराहरू पनि तोडफोड भएका छन्।

सबैभन्दा गम्भीर विषय, भिडले प्रहरीको हतियार भण्डारणमा समेत क्षति पुर्याएको छ।

मुचुल्काअनुसार ३०३ राइफलका गोली १ हजार ७ सय ८१ थान, एसएलआर राइफलका १३ नाल, इन्सास राइफल १०२ नाल र यसका १० हजार ३१४ गोली, सटगन १९ नाल र पेस्तोललगायतका हतियार तथा हजारौं राउन्ड गोली र ग्यास सेल रहेको स्थानमा तोडफोड र आगजनी भएको छ।

भिडियोबाट पहिचान, प्रतिवादीको साबिती बयान
सामाजिक सञ्जालमा भाइरल भएका भिडियो र सिसिटिभी फुटेजको अनुसन्धानबाट प्रहरीले रोक्का र स्याङबालाई पहिचान गरेको थियो।

भिडियोमा सुरेश रोक्का कालो टोपी र मास्क लगाएर हातमा फलामको हम्मर बोकी तोडफोडमा उत्रिएको देखिएको थियो भने देवराज स्याङबा हातमा खुँडी (खुकुरी) बोकेर प्रदर्शनमा उत्रिएका थिए।

अनुसन्धानका क्रममा दुवै जनाले आफ्नो गल्ती स्वीकार गरेका छन्।

बयानमा सुरेश रोक्काले भनेका छन्, ‘म टोखामा आल्मुनियमको काम गर्दै आइरहेको थिएँ। भदौ २४ गते महाराजगञ्जमा आन्दोलन भएको थाहा पाएर त्यहाँ गएँ। ठूलो भिडमा मिसिएर हुलको उक्साहटमा हातमा हम्मर बोकी तोडफोडमा सहभागी भएँ। यो मेरो गल्ती हो, मलाई कसैले निर्देशन दिएको होइन।’

त्यसैगरी, वसुन्धरामा कस्मेटिक पसल चलाउने देवराज स्याङबाले पनि भिडको उक्साहटमा हातमा खुकुरी बोकेको स्वीकार गरेका छन्।

उनले बयानमा भनेका छन्, ‘म भिडसँगै प्रहरी कार्यालयभित्र पसेर ढुंगामुढा गर्ने कार्यमा सहभागी भएँ। हातमा खुकुरी बोकी विरोध गर्दा प्रहरीले चलाएको गोली मेरो बायाँ खुट्टामा लागेर मलाई मेट्रो अस्पताल पुर्याइएको थियो। हुल भिडको उक्साहटमा आपराधिक उपद्रव गर्नु मेरो गल्ती भयो।’

सजायको मागदाबी
प्रहरीको अनुसन्धान प्रतिवेदन, सिसिटिभी फुटेज, सामाजिक सञ्जालका तस्बिर र प्रतिवादीहरूकै साबिती बयानलाई आधार मान्दै सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को 'आपराधिक उपद्रव गर्न नहुने' कसुरअन्तर्गत मुद्दा चलाएको छ।

संहिताको दफा २८५ को उपदफा (३)(क) बमोजिम सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको अभियोगमा उनीहरूलाई ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिबानाको माग गरिएको छ।

यसका साथै, ऐनको उपदफा (४) बमोजिम प्रहरी वृत्तमा भएको सम्पूर्ण भौतिक क्षतिको मूल्यांकन (बिगो) बमोजिमको क्षतिपूर्ति रकम पनि यिनै प्रतिवादीहरूबाट भराउन र अपराध पीडित राहत कोषमा शुल्क जम्मा गराउन अदालतसमक्ष मागदाबी गरिएको छ। हाल यी दुवै प्रतिवादीहरू हाजिर जमानीमा छुटेको अवस्थामा रहेको अभियोगपत्रमा उल्लेख छ।

फागुन १५, २०८२ शुक्रबार ११:५९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।