‘न्यायाधीश घुस खान्छन्’ भन्दा मुद्दा खेपिरहेका राजकुमारको दाबी- ‘शम्भु थापा र गोपाल घिमिरेले बोलेकै कुरा लेखेको हुँ’
काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा ‘दि डार्क फाइल क्याम्पेन सेन्टर’ नामक अभियान चलाउने राज कुमार तिमल्सीनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय (साइबर) अपराधको मुद्दा दायर भएको छ।
प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई लक्षित गरी न्यायालयको स्वतन्त्रता र मर्यादामाथि प्रहार गरेको अभियोग उनीमाथि लगाइएको छ।
तर, हाल केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा रहेका तिमल्सीनाले भने आफूले कुनै अपराध नगरेको बरु वरिष्ठ अधिवक्ताहरूले नै सार्वजनिक रूपमा बोलेका कुरा र सञ्चारमाध्यममा आएका समाचारलाई आधार मानेर भ्रष्टाचारविरुद्ध आवाज मात्र उठाएको दाबी गरेका छन्।
‘वरिष्ठ वकिलहरूले नै न्यायाधीशले घुस खान्छन् भनेका हुन्’
अदालतमा दिइएको साबिती बयानमा ३६ वर्षीय तिमल्सीनाले आफ्नो अभियान भ्रष्टाचारविरुद्धको नागरिक खबरदारी भएको जिकिर गरेका छन्।
उनले टिकटक र फेसबुकमा आफूले राखेका भिडियो र स्टाटसहरू मूलधारका सञ्चारमाध्यममा आएका विषयवस्तुको ‘कपी’ मात्र भएको दाबी गरेका छन्।
न्यायालयमा हुने गरेका राजनीतिक भागबण्डा र विकृतिविरुद्ध बोल्ने क्रममा उनले नेपालका चर्चित कानुन व्यवसायीहरूको भनाइलाई आफ्नो प्रतिरक्षाको हतियार बनाएका छन्।
तिमल्सीनाले बयानमा भनेका छन्, ‘कानुनका ज्ञाता वरिष्ठ अधिवक्ता शम्भु थापाले कान्तिपुर टेलिभिजनमा नै न्यायाधीशहरू घुस खान्छन्, हामी घुस खुवाउँछौं भन्नु, नेपाल बार एसोसिएसनको कार्यक्रममा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीशले नै घुस खाएका छन् भन्नु र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राजदूत नियुक्तिमा ५ करोड, आईजीपी हुन १५ करोड र न्यायाधीश हुन १५ देखि ५० करोडसम्म घुस लेनदेन हुन्छ भनी सार्वजनिक रूपमै अभिव्यक्ति दिएपछि हामीले त्यसैलाई प्रमुख मुद्दा बनाएर विकृति अन्त्य हुनुपर्छ भनी खबरदारी गरेका हौं।’
आफ्नो उद्देश्य अदालत वा न्यायाधीशको मानमर्दन गर्ने नभई न्याय परिषद्मा परेका एक सय १३ वटा उजुरीको सुनुवाइ हुनुपर्ने र न्यायाधीश हरिकृष्ण कार्कीको अदालत सुधारसम्बन्धी प्रतिवेदन कार्यान्वयन हुनुपर्ने माग राख्नु मात्र रहेको उनको जिकिर छ।
सरकारी निकायसँग मिलेर काम गरेको र संस्था दर्ताको तयारीमा रहेको दाबी
तिमल्सीनाले आफ्नो ‘दि डार्क फाइल’ अभियानले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, हेलो सरकार, र नेपाल प्रहरीको सम्पत्ति शुद्धीकरण विभागलगायतका निकायसँग सहकार्य गर्दै आएको दाबी समेत गरेका छन्।
ती निकायमा प्रमाणसहित उजुरी दिएपछि मात्र आफूहरूले सामाजिक सञ्जालमा सूचना ल्याउने गरेको उनको भनाइ छ।
साथै, उनले विगतमा सामाजिक सञ्जालबाट भएका कमीकमजोरीप्रति क्षमायाचना गर्दै ‘दि डार्क फाइल क्याम्पेन सेन्टर’ बन्द गर्ने र ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ नामक संस्था विधिवत रूपमा दर्ता गरेर अघि बढ्ने तयारी गरिरहेकै बेला आफूलाई पक्राउ गरिएको गुनासो गरेका छन्।
अभियोगपत्रमा के छ आरोप ?
मुद्दामा तिमल्सीनाले सामाजिक सञ्जाल (फेसबुक, टिकटक, डिस्कोर्ड, रेडिट) मार्फत अदालतको गम्भीर अवहेलना गरेको उल्लेख छ।
अभियोगपत्रका अनुसार उनले सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र अशोक शेरचनको मुद्दा ‘सेटिङ’का लागि बूढानीलकण्ठ गएको, खुलामखुला अदालतमा कालोबजारी र मुद्दा किनबेच भएको, र ५० औं करोड घुस लेनदेन भएको जस्ता भ्रामक सूचना फैलाएका थिए।
त्यसैगरी, ‘इस्लाम खान बंगलादेश’ नामक ह्याकर समूहलाई जिम्मेवारी दिई नेपाल सरकारका वेबसाइटहरू ह्याक गर्न उत्प्रेरित गरेको आरोप पनि उनीमाथि छ। यता, पवन कुमार के.सी. थापाले पनि कागज गर्दै तिमल्सीनाले नै उक्त कार्य गरेको बयान दिएका छन्।
पाँच वर्षसम्म कैद र क्षतिपूर्तिको मागदाबी
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तिमल्सीनालाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसुर गरेको भन्दै सोही ऐनबमोजिम सजाय (एक लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै) मागदाबी गरेको छ।
साथै, विद्युतीय कारोबार ऐनको दफा ५८ (क) र ७६ बमोजिम मनासिब क्षतिपूर्ति भराउन र अपराध पीडित संरक्षण ऐनअनुसार राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत माग गरिएको छ।
अभियोगपत्रमा तिमल्सीनाको पुरानो आपराधिक रेकर्ड (सीआरएस) समेत पेश गरिएको छ। जसअनुसार उनीमाथि यसअघि ललितपुरमा सार्वजनिक अपराध, र भक्तपुर तथा काठमाडौंका विभिन्न प्रहरी वृत्तमा बैंकिङ कसुरका छुट्टाछुट्टै ४ वटा मुद्दाहरू दर्ता भएको देखिएको छ।
फागुन १५, २०८२ शुक्रबार १०:४५:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।