बीबीसीको डकुमेन्ट्रीप्रति एमालेको धारणा- ‘यो भूराजनीतिक चलखेल हो’
काठमाडौं : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसमा भएको राज्यको बल प्रयोगबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले अनुसन्धानात्मक डकुमेन्ट्री सार्वजनिक गरेपछि एमालेले कडा आपत्ति जनाएको छ।
निर्वाचनको मुखैमा उक्त डकुमेन्ट्री प्रसारण हुनुलाई एमालेले नियोजित हस्तक्षेप र भूराजनीतिक चलखेलको संज्ञा दिएको छ।
एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत डकुमेन्ट्रीको समय र उद्देश्यमाथि प्रश्न उठाएका छन्। उनले चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हुन नसक्ने दाबी गरेका छन्।
‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन- यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो,’ महासचिव पोखरेलले आफ्नो स्टाटसमा लेखेका छन्, ‘नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ।’
उनले लोकतन्त्रको रक्षा र सार्वभौमिकताको जगेर्ना नेपाली जनता आफैंले गर्नुपर्ने भन्दै सूचना स्वतन्त्र भए पनि त्यसको समय, सन्दर्भ र उद्देश्य पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।
के छ बीबीसीको डकुमेन्ट्रीमा?
बीबीसीले बिहीबार सार्वजनिक गरेको डकुमेन्ट्रीमा गत भदौ २३ गतेको जेनजी आन्दोलनमाथि भएको प्रहरी दमन र त्यसपछिको घटनाक्रमलाई मिहीन रूपमा केलाइएको छ।
आन्दोलनका क्रममा स्कुलको पोशाकमै रहेका १७ वर्षीय विद्यार्थी श्रेयम चौलागाईंसहित १९ जनाको ज्यान जाने गरी कसरी र कसको आदेशमा गोली चलाइयो भन्ने विषयमा डकुमेन्ट्री केन्द्रीत छ।
साथै, भदौ २३ को निर्मम दमनले भोलिपल्ट अर्थात् भदौ २४ गते कसरी उग्र रूप लियो र देशमा ठूलो विध्वंश निम्तियो भन्ने पाटोलाई पनि डकुमेन्ट्रीले उजागर गरेको छ।
भदौ २३ र २४ को त्यो पृष्ठभूमि
त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। भदौ २३ गते प्रदर्शनकारीमाथि गोली चल्दा १९ जनाको मृत्यु भइसकेपछि देशभर जनता आक्रोशित बनेका थिए।
स्थिति तनावपूर्ण रहेकै बेला साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि तत्कालीन सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ‘प्रधानमन्त्रीले किन राजीनामा दिने?’ भन्दै अडान सार्वजनिक गरेका थिए।
सरकारको उक्त अभिव्यक्तिका कारण जनताको आक्रोश झनै अनियन्त्रित बन्यो। त्यसैको परिणाम स्वरूप भदौ २४ गते आन्दोलनकारीले सडकमा उग्र प्रदर्शन गर्दै सिंहदरबार, सर्वोच्च अदालतलगायत थुप्रै सरकारी भवन र नेताहरूको निवासमा आगजनी गरेका थिए।
चुनावी एजेन्डामाथिको धक्का!
भदौ २४ गतेको उक्त विध्वंशलाई एमालेले अहिले आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको छ। त्यसका लागि उनले पहिला संसद भवन जल्यो अनि मात्र गोली चल्यो भन्ने नारा नै कार्यकर्तालाई रटाइरहेको छ।
यसले उनीहरूको चुनावी एजेन्डामाथि नै धक्का दिएको छ। जेनजी आन्दोलनमा सहभागी अधिकांश युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको वा रास्वपालाई समर्थन गरेको परिप्रेक्ष्यमा, एमालेले ‘भदौ २४ को विध्वंश मच्चाउनेहरूलाई भोट दिन नहुने’ भन्दै चुनावी अभियान चलाइरहेको छ।
तर, ठीक चुनावको मुखमा बीबीसीले डकुमेन्ट्री ल्याएर भदौ २४ को विध्वंश हुनुको मुख्य कारण भदौ २३ मा राज्यले १९ जनाको ज्यान लिने गरी चलाएको गोली र सरकारको दम्भ नै थियो भन्ने भाष्य स्थापित गर्न खोजेपछि एमाले झस्किएको हो।
आफूले सेट गरेको चुनावी न्यारेटिभ (कथा) लाई डकुमेन्ट्रीले भत्काउने जोखिम बढेपछि एमाले महासचिव पोखरेलले यसलाई 'प्रोपागान्डा र बाह्य हस्तक्षेप' भन्दै प्रतिवाद गरेका हुन्।
फागुन १५, २०८२ शुक्रबार ०९:१७:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।