कीर्तिमानी योगफलसहित जिम्बाब्वेविरुद्ध ७२ रनको जितसँगै टी-२० विश्वकपमा भारतको सेमिफाइनल सम्भावना कायमै
काठमाडौं : आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गतको महत्त्वपूर्ण खेलमा भारतले जिम्बाब्वेलाई ७२ रनले पराजित गरेको छ। चेन्नईको एमए चिदम्बरम स्टेडियममा हात पारेको यस सानदार जितसँगै भारतले आफ्नो सेमिफाइनल पुग्ने सम्भावनालाई कायमै राखेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २५६ रनको विशाल योगफल तयार पारेको थियो। २५७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जिम्बाब्वेले २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन मात्र बनाउन सक्यो।
विशाल लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेको सुरुवात सुस्त रह्यो।ओपनर ब्रायन बेनेटले उत्कृष्ट प्रदर्शन गर्दै ५९ बलमा ८ चौका र ६ छक्कासहित अविजित ९७ रनको पारी खेले। उनलाई कप्तान सिकन्दर रजा (३१ रन) ले केही साथ दिए पनि अन्य ब्याटर चल्न नसक्दा जिम्बाब्वेले लक्ष्य भेटाउन सकेन।
भारतका तर्फबाट घातक बलिङ गरेका अर्शदीप सिंहले ४ ओभरमा मात्र २४ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, अक्षर पटेल, वरुण चक्रवर्ती र शिवम दुबेले १-१ विकेट हात पारे।
भारतको कीर्तिमानी ब्याटिङ
यस खेलमा भारतले टी-२० विश्वकपको इतिहासमै आफ्नो सबैभन्दा ठूलो स्कोर खडा गर्यो। यसअघि सन् २००७ मा इंग्ल्यान्डविरुद्ध बनाएको २१८ रन नै भारतको उच्च स्कोर थियो।
त्यस्तै, यस इनिङ्समा भारतले १७ वटा छक्का प्रहार गर्यो, जुन विश्वकपमा भारतको अर्को कीर्तिमान हो। भारतका सबै ६ जना ब्याटरले १५० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका थिए।
भारतका लागि हार्दिक पाण्ड्या र अभिषेक शर्माले अर्धशतक प्रहार गरे। २३ बलमा अविजित ५० रन बनाएका हार्दिक ‘प्लेयर अफ द म्याच’ घोषित भए।
अभिषेकले ५५ रन बनाए भने १६ बलमै अविजित ४४ रनको आँधीबेहरी पारी खेलेका तिलक वर्माले स्कोरलाई २५६ सम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेले। त्यस्तै, इशान किशनले ३८, सूर्यकुमार यादवले ३३ र सञ्जु सामसनले २५ रनको योगदान दिए।
यस खेलमा भारतले आफ्नो ओपनिङ जोडी परिवर्तन गर्दै अभिषेक शर्मासँग सञ्जु सामसनलाई मैदानमा उतारेको थियो।
सेमिफाइनल पुग्नका लागि भारतलाई यो खेल जित्नैपर्ने दबाब थियो। अब आइतबार भारत र वेस्ट इन्डिजबीच हुने खेल 'भर्चुअल क्वाटरफाइनल' बनेको छ। उक्त खेल जित्ने टोली सोझै सेमिफाइनलमा प्रवेश गर्नेछ।
'हामी आक्रामक क्रिकेट नै खेल्छौँ'
१६ बलमा ४४ रन बनाएका भारतीय युवा ब्याटर तिलक वर्माले खेलपछिको पत्रकार सम्मेलनमा टोलीको रणनीतिको खुलासा गरे।
उनले भने, ‘कोच गौतम गम्भीरले हामीलाई जस्तोसुकै परिस्थिति आए पनि विगत एक वर्षदेखि हामीले खेलिरहेको आक्रामक क्रिकेटलाई नै निरन्तरता दिन भन्नुभएको छ।’
आगामी खेलहरूमा पनि यही रणनीतिका साथ मैदान उत्रने बताउँदै उनले थपे, ‘विकेट राम्रो छैन भने हामी त्यहीअनुसार खेल्छौँ, तर यदि सुरुवात राम्रो भयो भने हामी जतिसक्दो ठूलो स्कोर बनाउने प्रयास गर्नेछौँ।’
फागुन १५, २०८२ शुक्रबार ०८:०९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।