प्रचण्डको स्पष्टोक्ति : बागलुङमा मात्र तालमेल, अन्त नेकपा एक्लै चुनावी प्रतिस्पर्धामा
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ मा मात्र आफ्नो पार्टीले चुनावी तालमेल गरेको बताएका छन्।
देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये एक क्षेत्रबाहेक अन्य सबै निर्वाचन क्षेत्रमा नेकपाले एक्लै प्रतिस्पर्धा गर्ने उनको भनाइ छ। निर्वाचनमा कुनै पनि राजीतिक दलसँग समीकरण नहुने उनले स्पष्ट पारे।
पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, “यो निर्वाचनमा नेकपाले कुनै पनि राजनीतिक दलसँग समीकरण गर्दैन, आफ्नै ‘एजेण्डा’, पार्टी सङ्गठन र जनताको साथ र सहयोगमा निर्वाचनमा जाँदैछौं।”
नेकपाले विगतको कमीकमजोरी सच्याएर जनताको चाहना र भावनाअनुसार सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने उल्लेख गर्दै प्रचण्डले राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा तथा भ्रष्टाचारको विरुद्धमा नेकपा लाग्ने भएकाले जनताले मत दिने विश्वास व्यक्त गरे।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी संयन्त्र र आमजनताको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले आसन्न निर्वाचनले मुलुकलाई निकास दिने विश्वास व्यक्त गरे।
प्रचण्डले जेनजी युवाको भावनाअनुसार संविधान संशोधन गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिन सबै राजनीतिक दल, युवापुस्तालगायत सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए।
फागुन १४, २०८२ बिहीबार १९:१३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।