निर्वाचनका लागि स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न आयोगको निर्देशन

निर्वाचनका लागि स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न आयोगको निर्देशन

काठमाडाैं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

आयोगले निर्वाचनको व्यवस्थापकीय कार्य स्वीकृत कार्यतालिकाअनुसार निरन्तर अघि बढिरहेको उल्लेख गर्दै सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहसँग आवश्यक समन्वय गर्न आग्रह गरिएको आयोगले जनाएको छ। साथै आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले आयोगले नेपाल सरकार तथा सरोकारवाला निकायसँग निरन्तर सहकार्य गरिरहेको जनाएको छ। मतदाताको सहभागिता बढाउन मतदानको दिनअघि र पछि गरी तीन दिन सार्वजनिक बिदा दिने आयोगको सिफारिसअनुसार सरकारले निर्णयसमेत गरिसकेको छ।

मतदान प्रक्रियालाई व्यवस्थित बनाउन मतदान केन्द्र रहेका शिक्षण संस्था, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत सरकारी संरचना तथा तिनमा रहेका भौतिक सम्पत्ति फागुन १९ गतेदेखि २१ गतेसम्म प्रयोग गर्न सक्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र स्थानीय तहसँग समन्वय गरिएको आयोगले जनाएको छ। यस सम्बन्धमा गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा पत्राचार भइसकेको विज्ञप्तिमा उल्लेख छ।

आयोगले निर्णयअनुसार आवश्यक सहयोग उपलब्ध गराउन संघीय, प्रदेश र स्थानीय तहका सरकारसहित सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ।

फागुन १४, २०८२ बिहीबार १६:०१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।