मधेशमा आचारसंहिताको उपहास : दलहरूको मनपरी, चोक-चोकमा पोस्टर र झण्डाको बाढी
सिराहा : निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई चुनौती दिँदै मधेश प्रदेशमा राजनीतिक दलहरूले शक्ति प्रदर्शन र प्रचारप्रसारलाई तीव्र बनाएका छन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा मुख्य बजार, सडक किनार र सरकारी कार्यालयका पर्खालहरू दलीय झण्डा, ब्यानर र पोस्टरले भरिएका छन्, जसले आचारसंहिताको 'डिस्कोर्स' लाई नै उपहास गरिरहेको छ।
आयोगले सार्वजनिक स्थानमा प्रचार सामग्री राख्न, तडक-भडक गर्न र ध्वनि प्रदूषण गराउन स्पष्ट रोक लगाए पनि सिरहाका मुख्य चोक र सरकारी संरचनामै दलका झण्डाहरू गाडिएका देखिन्छन्। विशेष गरी ठूला दलहरूबाटै आचारसंहिताको ठाडो उल्लङ्घन भइरहँदा निर्वाचन आयोगको अनुगमन संयन्त्र भने 'मूकदर्शक' बनेको स्थानीयको आरोप छ।
निर्वाचन आयोगले निष्पक्ष र मर्यादित चुनावका लागि आचारसंहिता लागू गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा कमजोरी देखिन्छ। आयोगले अनुगमन टोली खटाएको दाबी गरे पनि मैदानमा भने दलहरू मनोमानी ढंगले प्रचारप्रसारमा उत्रिएका छन्। निर्वाचन आउँदा नियम सम्झने, जितेपछि बिर्सिने प्रवृत्ति फेरि दोहोरिएको छ एक स्थानीय नागरिकले गुनासो गरे ।
विशेषगरी ठूला दलहरू नै नियम मिच्न अग्रसर देखिएका छन्। शक्ति प्रदर्शनका नाममा मोटरसाइकल र्याली भिडभाडयुक्त सभा र ध्वनि प्रदूषण हुने गरी बाजा-गाजा प्रयोग गरिँदै आएको छ। यसले सर्वसाधारणलाई असहज मात्र बनाएको छैन चुनावी वातावरणलाई पनि अस्वस्थ बनाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार आचारसंहिता पालनामा दलहरू गम्भीर नहुँदा लोकतान्त्रिक मूल्य-मान्यतामाथि नै प्रश्न उठ्ने गरेको छ। कानुन सबैका लागि समान हुनुपर्ने भए पनि व्यवहारमा भने शक्तिशालीका लागि छुट र सामान्य नागरिकका लागि कठोरता देखिनु चिन्ताको विषय बनेको छ।
स्थानीय बुद्धिजीवीहरूले आयोगलाई कडाइका साथ अनुगमन गरी उल्लङ्घन गर्ने दल र उम्मेदवारमाथि कारबाही गर्न आग्रह गरेका छन्। कानुन उल्लङ्घन गरेर प्राप्त जितले लोकतन्त्र बलियो हुँदैन, उनीहरूको भनाइ छ। मधेशमा देखिएको यो अवस्था तत्काल नियन्त्रण नगरे चुनावी वातावरण थप तनावपूर्ण बन्न सक्ने संकेत देखिएको छ।
फागुन १४, २०८२ बिहीबार १५:५८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।