चितवनमा गाडी रोकेर शौच गर्न झरेकी महिलाको अर्को बसको ठक्करबाट मृत्यु
चितवन : चितवनको खैरहनी नगरपालिकास्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान सबेरै बसको ठक्करबाट एक महिला यात्रुको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषा जिल्लाको धनुषा नगरपालिका वडा नम्बर २ बस्ने ५२ वर्षीया सिकील देवी पूर्वे रहेकी छन्।
प्रहरीका अनुसार, खैरहनी नगरपालिका-९ सिमलटाँडी चोकमा राति करिब १:२० बजेको समयमा यो दुर्घटना भएको हो।
काठमाडौंबाट धनुषातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९०११ नम्बरको बसमा सवार पूर्वे बस रोकेर शौच (पिसाब) गर्न झरेकी थिइन्।
सोही क्रममा पछाडिबाट सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२१७ नम्बरको अर्को बसले उनलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको थियो। तर, अस्पताल पुर्याउनासाथ राति १:३७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनास्थल इलाका प्रहरी कार्यालय खैरहनीबाट करिब ३ किलोमिटर पूर्वमा पर्दछ।
घटनापछि ठक्कर दिने बागमती प्रदेश ०१-००६ ख ५२१७ नम्बरको बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।
मृतक पूर्वे सवार रहेको प्रदेश १-०२-००१ ख ९०११ नम्बरको बस भने अन्य यात्रु लिएर आफ्नो गन्तव्य (धनुषा) तर्फ लागिसकेको प्रहरीले जनाएको छ।
फागुन १४, २०८२ बिहीबार ११:५७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।