टी-२० विश्वकप : श्रीलंकालाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनल नजिक, पाकिस्तानको सम्भावना कमजोर
काठमाडौं : टी-२० विश्वकपको सुपर ८ चरणको एक महत्त्वपूर्ण खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको छ।
यो जितसँगै न्युजिल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ भने पाकिस्तानको अघिल्लो चरणमा पुग्ने सम्भावना झनै कमजोर बनेको छ।
बुधबार कोलम्बोको प्रेमदासा स्टेडियममा भएको खेलमा श्रीलंकाका कप्तान दासुन शनाकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए।
सुरुमा श्रीलंकाको यो निर्णय सही जस्तो देखिएको थियो, किनकि सुरुवाती ६ ओभरको अन्त्यसम्ममा न्युजिल्यान्डका दुवै ओपनिङ ब्याट्सम्यान आउट भइसकेका थिए।
एक समय न्युजिल्यान्डले १३० रन पनि बनाउन नसक्ने जस्तो देखिएको थियो। तर, कप्तान मिचेल सान्टनर र कोल म्याककोन्चीले सातौं विकेटका लागि ८४ रनको उत्कृष्ट साझेदारी गर्दै श्रीलंकासामु १६९ रनको लक्ष्य प्रस्तुत गरे।
श्रीलंकाका लागि महेश तिक्षणा र दुश्मन्था चमिराले ३-३ विकेट लिए।
१६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाको टिमले पूरै २० ओभर खेलेर जम्मा १०७ रन मात्र बनाउन सक्यो। न्युजिल्यान्डका रचिन रवीन्द्रले ४ विकेट लिएर ‘प्लेयर अफ द म्याच’ बने।
हारसँगै श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।
अंक तालिका र सेमिफाइनलको समीकरण:
ग्रुप-२ मा रहेका इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंकाले अहिलेसम्म २-२ खेल खेलेका छन्। जसमा इंग्ल्यान्डले दुवै खेल जितेर ४ अंकसहित सेमिफाइनलमा पुगिसकेको छ भने न्युजिल्यान्डले दुई खेलबाट ३ अंक जोडेको छ।
उता पाकिस्तान भने न्युजिल्यान्डसँगको खेल वर्षाका कारण रद्द हुँदा जम्मा १ अंक मात्र जोडेर बसेको छ। अब पाकिस्तान सेमिफाइनलमा पुग्न शुक्रबार हुने खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ठूलो अन्तरले हराएर शनिबार श्रीलंकालाई पनि हराउनुपर्ने हुन्छ।
यस्तो अवस्था आएमा पनि सेमिफाइनल पुग्ने दोस्रो टिमको टुंगो रन रेटका आधारमा लाग्नेछ। अहिले न्युजिल्यान्डको रन रेट निकै राम्रो (३.०५०) छ भने पाकिस्तानको रन रेट माइनसमा (-०.४६१) रहेको छ।
फागुन १४, २०८२ बिहीबार ०७:२६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।