जातीय अपमानजनक शब्द प्रयोग भएकोमा गुगलले माफी माग्यो
एजेन्सी : बेलायतमा फिल्म, टेलिभिजन र गेमिङ क्षेत्रमा उत्कृष्ट कार्य गर्नेहरूलाई सम्मान स्वरूप प्रदान गरिने प्रतिष्ठित बाफ्टा अवार्ड समारोह सम्बन्धी समाचारको नोटिफिकेसन पठाउँदा गम्भीर गल्ती भएको भन्दै माफी मागेको छ।
गुगल न्युजको अलर्टमा जातीय अपमानजनक शब्द प्रयोग भएको थियो, जसले प्रयोगकर्ताहरूलाई उक्त अपमानजनक शब्दबारे थप पढ्न सुझाव दिएको थियो।
यो घटना बाफ्टा अवार्ड समारोहका क्रममा भएको थियो, जहाँ अभिनेता माइकल बी. जोर्डन र डेलरोय लिन्डो मञ्चमा उक्लँदा दर्शकदीर्घामा रहेका टौरेट सिन्ड्रोम भएका एक व्यक्तिले अनियन्त्रित रूपमा जातीय अपमानजनक शब्द उच्चारण गरेका थिए।
गुगलका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै भने, ‘हामी यो गल्तीका लागि गहिरो दुःख व्यक्त गर्छौं। हामीले उक्त अपमानजनक नोटिफिकेसन हटाइसकेका छौं र भविष्यमा यस्तो नहोस् भन्नका लागि काम गरिरहेका छौं।’
सामाजिक सञ्जालमा धेरैले यो गल्ती गुगलको जेनेरेटिभ एआईका कारण भएको दाबी गरेका थिए। तर कम्पनीले भने यो एआईको कारण नभई सुरक्षा प्रणालीको कमजोरीका कारण भएको प्रष्ट पारेको छ।
गुगलको प्रणालीले अनलाइनमा रहेका धेरै सामग्रीहरूमा उक्त शब्द प्रयोग भएको भेट्टायो र त्यसैलाई आधार मान्दै प्रयोगकर्ताहरूलाई समाचारको सुझाव पठाउँदा उक्त अपमानजनक शब्द पनि समावेश हुन पुग्यो। कम्पनीले यस्तो घटना हुनु नपर्ने भन्दै अबदेखि यस्ता शब्दहरू रोक्न सुरक्षा उपायहरू कडा बनाइने बताएको छ।
गुगल न्युज एप अमेरिकामा धेरै डाउनलोड हुने समाचार एपमध्ये एक हो। यद्यपि, कम्पनीले मंगलबार यो नोटिफिकेसन थोरै प्रयोगकर्ताले मात्र देखेको र तुरुन्तै हटाइएको दाबी गरेको छ।
यो घटना सबैभन्दा पहिले इन्स्टाग्राम क्रिएटर ड्यानी प्राइसले सार्वजनिक गरेका थिए। उनले आक्रोश व्यक्त गर्दै लेखेका थिए, ‘यो ब्ल्याक हिस्ट्री मन्थ कति रोचक बन्दै गइरहेको छ।’ अमेरिकामा फेब्रुअरी महिनालाई ‘ब्ल्याक हिस्ट्री मन्थ’का रूपमा मनाइन्छ।
बाफ्टा अवार्ड समारोह र यसलाई प्रसारण गर्ने बीबीसीले पनि उक्त जातीय अपमानजनक शब्द प्रयोग भएकोमा माफी मागिसकेका छन् र प्रसारणबाट उक्त अंश हटाइएको छ।
फागुन १३, २०८२ बुधबार १३:४६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।