जब अस्ट्रेलियाली प्रधानमन्त्रीको निवासमा बम राखेको ईमेल आयो...
सिड्नी : अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजको सरकारी निवासमा बम राखिएको भन्ने हल्लाले मंगलबार सुरक्षा सतर्कता बढाइएको छ।
यो धम्की चीन सरकारद्वारा प्रतिबन्धित एक चिनियाँ नृत्य तथा संगीत समूहलाई पठाइएको लिखित सन्देशबाट सुरू भएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार, ‘शेन युन’ नामक समूहका कलाकारहरूलाई उनीहरूको आगामी अस्ट्रेलियाली कार्यक्रम रद्द गर्न चेतावनी दिँदै इमेल पठाइएको थियो।
इमेलमा कार्यक्रम रद्द नगरे प्रधानमन्त्री अल्बानीजको क्यानबेरास्थित सरकारी निवास (द लज) मा बम विस्फोट गराइने धम्की दिइएको थियो।
प्रहरीका अनुसार मंगलबार स्थानीय समय अनुसार साँझ ६ बजे प्रधानमन्त्रीलाई सुरक्षाका कारण निवासबाट बाहिर निकालिएको थियो र केही घण्टा सुरक्षित स्थानमा राखिएको थियो।
प्रहरीले प्रधानमन्त्रीको निवासमा खानतलासी गर्दा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको पुष्टि गरेको छ।
चिनियाँ भाषामा लेखिएको उक्त धम्कीपूर्ण इमेलमा प्रधानमन्त्रीको निवास वरिपरि ठूलो मात्रामा ‘नाइट्रो-ग्लिसरीन’ विस्फोटक पदार्थ राखिएको दाबी गरिएको थियो।
इमेलमा भनिएको थियो, ‘यदि तिमीहरूले प्रस्तुति जारी राख्ने जिद्दी गर्यौ भने, प्रधानमन्त्रीको निवास ध्वस्त पारिनेछ र त्यहाँ रगतको खोलो बग्नेछ।’
यो धम्कीको खबर सबैभन्दा पहिले ‘फालुन गोंग’ धार्मिक अभियानसँग सम्बन्धित एक पत्रिकाले सार्वजनिक गरेको थियो।
चीनमा प्रतिबन्धित फालुन गोंग र शेन युन समूहबीच सम्बन्ध रहेको बताइन्छ। अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार शेन युनले मंगलबार नै प्रहरीलाई यसबारे जानकारी गराएको थियो।
बुधबार बिहान प्रधानमन्त्री अल्बानीजले सामाजिक सञ्जालमार्फत आफू सुरक्षित रहेको जानकारी दिएका छन्। उनले ढोकामा बसिरहेको आफ्नो कुकुर ‘टोटो’को तस्बिर सेयर गर्दै प्रहरी र शुभचिन्तकहरूलाई धन्यवाद दिएका छन्।
उनले लेखेका छन्, ‘टोटो सतर्क अवस्थामा छ, तर सबै ठीक छ।’
बुधबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले देशमा राजनीतिक बहसको वातावरण शान्त राख्न र उत्तेजना नफैलाउन सबैलाई आग्रह समेत गरेका छन्।
फागुन १३, २०८२ बुधबार १३:२४:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।