‘कोडिङ किक्सस्टार्ट ३.०’मा दरबार हाइस्कुलसहित तीन विद्यालयले जिते १-१ लाख पुरस्कार

‘कोडिङ किक्सस्टार्ट ३.०’मा दरबार हाइस्कुलसहित तीन विद्यालयले जिते १-१ लाख पुरस्कार

काठमाडौं : मेरो कोडिङ क्लासद्वारा आयोजित नेपालकै सबैभन्दा ठूलो विद्यार्थी कोडिङ प्रतियोगिता ‘कोडिङ किक्सस्टार्ट ३.०’ काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगितामा तीन फरक विधाका विजेता टिमलाई जनही १ लाखका दरले कुल ३ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।

कक्षा ३ देखि १० सम्मका विद्यार्थी सहभागी प्रतियोगिताको ‘ब्लक बेस्ड कोडिङ’ विधामा ग्लोबल पाठशाला, ‘एप डेभलपमेन्ट’मा दरबार हाई स्कूल र ‘रोबोटिक्स तथा आइओटी’मा ज्ञानोदय बाल बाटिकाले प्रथम स्थान हासिल गरेका छन्।

विशेषगरी, सरकारी विद्यालय दरबार हाई स्कूलको जितले सार्वजनिक शिक्षा प्रणालीका विद्यार्थीमा रहेको उत्कृष्ट प्राविधिक क्षमता र सम्भावनालाई प्रमाणित गरेको छ।

देशभरका ७९ टिमले प्रतिस्पर्धा गरेको यस कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई आयोजकले कुल ७९ सय घण्टा निःशुल्क प्रशिक्षण प्रदान गरेको थियो।

मेरो कोडिङ क्लासका प्रमुख कार्यकारी अधिकृत सबिन कार्कीले बालबालिकालाई प्रविधिको ‘उपभोक्ता’ मात्र नभई क्रियटर बनाउने उद्देश्यका साथ यो मञ्च प्रदान गरिएको बताए।

‘शार्क ट्याङ्क नेपाल’बाट समेत लगानी प्राप्त मेरो कोडिङ क्लासले हालसम्म ४५ सयभन्दा बढी विद्यार्थीलाई प्रविधि शिक्षा दिइसकेको छ।

फागुन १३, २०८२ बुधबार १०:२२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।