पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश

पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं : टी-२० विश्वकप क्रिकेटको सुपर-८ अन्तर्गतको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ। इंग्ल्यान्डले यो रोमाञ्चक खेल ५ बल बाँकी छँदै आफ्नो पक्षमा पारेको हो।

यस जितसँगै इंग्ल्यान्ड जारी टी-२० विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। सुपर-८ चरणमा इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो।

इंग्ल्यान्डलाई महत्त्वपूर्ण जित दिलाउन कप्तान ह्यारी ब्रुकले मुख्य भूमिका निर्वाह गरे। उनले मात्र ५१ बलमा १०० रनको उत्कृष्ट शतकीय पारी खेल्दै टोलीलाई जितको नजिक पुर्याएका थिए।

ब्रुक आउट भएपछि इंग्ल्यान्डले थप दुई विकेट गुमाउँदा खेल केही समय तनावपूर्ण बनेको थियो, तर अन्त्यमा बाजी इंग्ल्यान्डले नै मार्यो।

बलिङतर्फ पाकिस्तानका शाहीन शाह अफ्रिदीले ४ विकेट लिए। त्यस्तै, मोहम्मद नवाज र उस्मान तारिकको नाममा २-२ विकेट रह्यो।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ओभरमा इंग्ल्यान्डसामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

पाकिस्तानका लागि ओपनिङ ब्याट्सम्यान साहिबजादा फरहानले सर्वाधिक ६३ रन बनाए। उनीबाहेक कप्तान बाबर आजम र फखर जमानले समान २५-२५ रनको योगदान दिए।

इंग्ल्यान्डको बलिङतर्फ लिएम डसनले सबैभन्दा बढी ३ विकेट लिए भने जोफ्रा आर्चर र जेमी ओभरटनले २-२ विकेट हात पारे।

फागुन १३, २०८२ बुधबार ०८:०४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।