बालेनले औँल्याएका गर्नुपर्ने काम : 'धरानमा कोशीको पानी, बराहक्षेत्रलाई तीर्थस्थल र तराईलाई खाद्यान्नमा आत्मनिर्भर'

बालेनले औँल्याएका गर्नुपर्ने काम : 'धरानमा कोशीको पानी, बराहक्षेत्रलाई तीर्थस्थल र तराईलाई खाद्यान्नमा आत्मनिर्भर'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले उद्योग खोल्नका लागि नेताहरूको चाकडी गर्नुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने परम्पराको अन्त्य गर्ने बताएका छन्।

मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रशासनिक र राजनीतिक झन्झटकै कारण पूर्वमा नयाँ उद्योग खुल्न नसकेको दाबी गरे।

बालेनले भने, "खाने तेलदेखि मरमसलाका फ्याक्ट्रीहरू छन्, इन्डस्ट्री छन्। त्यसपछि नयाँ खुलेका छैनन्। नयाँ फ्याक्ट्री खोल्नुपर्यो भने १० वटा नेतालाई ढोग्नुपर्छ। कर्मचारीलाई फकाउनुपर्छ। अनि बल्ल बल्ल फ्याक्ट्री खुल्छ।"

उद्योग सञ्चालनमा आएपछि पनि व्यवसायी सुरक्षित नभएको उल्लेख गर्दै उनले थपे, "फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतंक हुन्छ। अब त्यो आतंक हुँदैन। त्यो आतंक नहुने गरी व्यवस्था बनाउन चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी।"

उनले पूर्वी तराईका तीन-चार जिल्लामा मात्र व्यवस्थित खेती गर्ने हो भने मुलुक खाद्यान्नमा आत्मनिर्भर हुने बताए। सिँचाइ अभाव र बाढीको समस्याका कारण परनिर्भर हुनुपरेको बालेनको भनाइ थियो।

"पूर्वी तराईका तीन चार जिल्लामा धान र चामल उत्पादन गर्ने हो भने देशभरि खान पुग्छ। तर, विडम्बना त्यो हुन सकेको छैन," उनले भने। बर्खा र हिउँद दुवै समयका समस्या औँल्याउँदै उनले भने, "वर्षामा बाढी आउने, बालुवाले खेतीयोग्य जग्गा सबै पुरिदिने, सुख्खामा पानी नपाउने... बाढी समाधान गर्न तटबन्ध बनाउने र सुख्खाको समयमा सिँचाइ दिने पार्टी बन्न चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी।"

धरानको खानेपानी समस्या समाधानका लागि रास्वपाले नेतृत्व लिने बालेनले बताए। कोशीबाट पानी ल्याउन यसअघि नै डिपिआर भए पनि काम अघि नबढेको भन्दै उनले अन्य दलका प्रतिनिधिलाई व्यङ्ग्य गरे। उनले भने, "खानेपानीको व्यवस्थापन कोशीबाट मेकानिकल लिफ्टिङ गरेर धरानमा ल्याउन लगभग ५/६ अर्ब लाग्छ। तर शायद यहाँको जनप्रतिनिधि सरकारमा पुगेन होला, त्यहाँको पार्टी पुगेन होला, अब रास्वपा पुग्छ।"

बालेनले सुनसरीको बराहक्षेत्र विश्वकै पहिलो तीर्थस्थल भएको दाबी गर्दै यसलाई विश्वसामु चिनाउनुपर्ने बताए। बराहक्षेत्र र उदयपुरको तटीय क्षेत्रको तुलना उनले इन्डोनेसियाको बाली र माल्दिभ्ससँग गरे। "उदयपुरका कोस्टल एरिया हेर्दा इन्डोनेसियाको बाली, माल्दिभ्स जस्तो विकास गर्न सकिन्छ कि जस्तो लाग्यो। त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ रास्वपा," उनले भने। 

फागुन १२, २०८२ मंगलबार २०:४२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।