अमेरिकाको पूर्वी तटमा शक्तिशाली हिमआँधी : ६ लाख घरमा विद्युत् कटौती, ५७ सय उडान रद्द
वासिङ्टन : अमेरिकाको पूर्वी तटमा सोमबार आएको शक्तिशाली आँधीका कारण कीर्तिमानी हिमपात भएको छ।
हिमआँधीका कारण त्यहाँको जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ भने लाखौँ मानिस प्रभावित भएका छन्।
अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार, रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा करिब ३७ इन्चसम्म हिउँ परेको छ।
त्यसैगरी, न्युयोर्क सहरको मुटु मानिने सेन्ट्रल पार्कमा १९ इन्चभन्दा बढी हिमपात मापन गरिएको छ।
हिमपातको अवस्था यति भयावह छ कि एक राज्य एजेन्सीले न्युयोर्कमा अहिले यात्रा गर्नु ‘लगभग असम्भव’ रहेको भन्दै सर्वसाधारणलाई कडा चेतावनी जारी गरेको छ।
भारी हिमपातका कारण पूर्वी तटमा रहेका ६ लाखभन्दा बढी घर र व्यावसायिक प्रतिष्ठानहरूमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
बिजुलीविहीन हुँदा नागरिकहरू चरम जाडोको मारमा परेका छन्। विद्युत् कटौतीबाट न्यु जर्सी र म्यासाचुसेट्स राज्य सबैभन्दा बढी प्रभावित भएका छन्।
आँधीले हवाई यातायातमा सबैभन्दा ठूलो प्रभाव पारेको छ। उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइटअवेयर’ का अनुसार, सोमबार मात्रै अमेरिकाभित्र र अमेरिका आवतजावत गर्ने कुल ५ हजार ७ सय ६ भन्दा बढी उडानहरू रद्द गरिएका छन्।
यसमध्ये बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ सोमबारका लागि तय गरिएका ९२ प्रतिशत प्रस्थान (डिपार्चर) उडानहरू रद्द गरिएका थिए।
मौसमविद्हरूका अनुसार मंगलबार पनि यस क्षेत्रमा हिमपातको प्रभाव कायमै रहनेछ। मंगलबार अमेरिकाभित्र वा आवतजावत गर्ने थप २ हजारभन्दा बढी उडानहरू रद्द हुने आशंका गरिएको छ।
जसमा बोस्टन र न्युयोर्कका विमानस्थलहरू सबैभन्दा बढी मारमा पर्ने जनाइएको छ। प्रशासनले नागरिकहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।
फागुन १२, २०८२ मंगलबार १३:५५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।