पाल्पा सिमेन्टको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला, सर्वसाधारणले कति दिने आवेदन?

पाल्पा सिमेन्टको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला, सर्वसाधारणले कति दिने आवेदन?

काठमाडौं : पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणतर्फको कुल ४५ लाख कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो।

कम्पनीले निष्कासन गरेको कुल ४५ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि र अर्को ५ प्रतिशत अर्थात् २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ।

यी दुवैलाई छुट्याएर बाँकी रहेको ३९ लाख ३७ हजार ५०० कित्ता शेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था छ।

कम्पनीका अनुसार यो आईपीओमा छिटोमा फागुन १५ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नु पर्नेछ। उक्त अवधिमा मागबमोजिम पर्याप्त आवेदन नपरेमा भने ढिलोमा फागुन २६ गतेसम्म म्याद थप हुनेछ। यद्यपि, पछिल्लो समय आईपीओमा पर्ने अत्यधिक चापलाई हेर्दा यो छिटो अवधि (फागुन १५ गते) मै बन्द हुने सम्भावना उच्च छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै, सीडीएससीको ‘मेरो शेयर’ वेबसाइट वा मोबाइल एपमार्फत घरैबाट सहजै अनलाइन आवेदनसमेत दिन सकिनेछ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सम्हालेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट गत पुस ९ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोही स्वीकृतिबमोजिम कम्पनीले पहिलो चरणमा गत पुस २५ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरिसकेको छ।

पहिलो चरणको निष्कासनपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर खुला गरिएको हो। भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने सिमेन्ट उत्पादक कम्पनी भएकाले यसको आईपीओमा लगानीकर्ताको राम्रो आकर्षण रहने अपेक्षा गरिएको छ।

फागुन १२, २०८२ मंगलबार ०८:३६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।