नक्कली नोट चिन्ने सूत्र सिकाउँदै राष्ट्र बैंक

नक्कली नोट चिन्ने सूत्र सिकाउँदै राष्ट्र बैंक

इनरुवा : आसन्न प्रतिनिधिसभा निर्वाचनमा जाली नोटको कारोबार हुन सक्ने जोखिम देखिएपछि सुनसरीमा सतर्कता अपनाउन थालिएको छ। 

निर्वाचनका बेलामा जाली नोटको कारोबार हुने सक्ने आशङ्काका आधारमा सुनसरी सदरमुकाम इनरुवा क्षेत्रभित्रका वित्तीय संस्था तथा बैंकका कर्मचारीका साथै सुरक्षाकर्मी र अन्य सरोकारवालालाई जाली नोट पहिचान गर्न प्रशिक्षण दिइएको छ। 

नेपाल राष्ट्र बैंक विराटनगरका उप-निर्देशक अच्युतकुमार थापाका अनुसार निर्वाचनलाई लक्षित गरेर इनरुवामा जाली नोट पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो। 

थापाले जाली नोट पहिचान गर्ने विधिको विषयमा जानकारी दिएका थिए। त्यसैगरी उनले नेपाली नोटको जतन गर्नुपर्ने, नोटमा जथाभाबी कोर्न/लेख्ने गर्दा नोटसँगै राष्ट्रियताको पनि अपमान हुने र त्यस्तो कसैले गरेमा राम्रो सन्देश नजाने बताए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक होमराज ओलीले जाली नोट भेटिएमा प्रहरीलाई जानकारी गराउने दायित्व सबैको भएको बताए। केही दिन अगाडि मात्र सुनसरी सदरमुकाम इनरुवा-३ र हरिनगर गाउँपालिकाबाट जाली नोटसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

फागुन ११, २०८२ सोमबार २१:०४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।