मिसन पुस्तान्तरण-२० : सधैँ नयाँ उम्मेदवार रुचाउने काठमाडौँ-२ को जनमत परीक्षणमा ३८ वर्षका भूगर्भविद्

मिसन पुस्तान्तरण-२० : सधैँ नयाँ उम्मेदवार रुचाउने काठमाडौँ-२ को जनमत परीक्षणमा ३८ वर्षका भूगर्भविद्

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २-जहाँ कोटेश्वरको आधुनिक शहरी कोलाहल पनि छ र जहरसिंह पौवाको शान्त ग्रामीण परिवेश पनि। एकातिर तीव्र शहरीकरणले निम्त्याएका समस्या, अर्कोतिर खानेपानीको अभाव र बाँदर-बँदेलको सास्ती खेपिरहेका किसान।

कोटेश्वरको बालकुमारी पुलदेखि सिन्धुपाल्चोक र काभ्रेपलान्चोकको छापभञ्ज्याङसम्म यो क्षेत्रमा काठमाडौं महानगरपालिकाअन्तर्गत  वडा नम्बर ९ र वडा नम्बर  ३२, कागेश्वरी मनोहराको वडा नम्बर  ४ देखि वडा नम्बर ९ र शंखरापुर नगरपालिकाका १ देखि ९ वडा सम्म पर्छन्। 

शहर र गाउँको मिश्रण रहेको यस निर्वाचन क्षेत्रमा फागुन २१ का लागि नेपाली कांग्रेसले अगाडि बढाएका उम्मेदवार हुन् ३८ वर्षे कबिर फुयाँल (शर्मा)।

भूगर्भविद् र पूर्वाधार क्षेत्रमा अनुभव बोकेका प्राविधिज्ञ कबिर कागेश्वरी-मनोहरा नगरपालिका, वडा नं. ६ का स्थानीय हुन्। त्रिचन्द्र कलेज पढ्दै गर्दा नेपाल विद्यार्थी संघमा आबद्ध भएर तरुण दुहुँदै उनी २०७९ मा पार्टीको काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिमा निर्वाचित भएर कांग्रेसको सबैभन्दा कान्छा क्षेत्रीय सभापति बनेका थिए।

भूगर्भविद्को रूपमा सक्रिय हुँदाहुँदै पार्टी राजनीतिमा सक्रिय भएका उनी कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएसँगै उम्मेदवारको प्राथमिकतामा परे। युवा अनि विज्ञसँगै राजनीतिक संरचनामा भिजेका उनी ‘नैतिक, पारदर्शी र दक्ष नेतृत्वमार्फत काठमाडौं–२ लाई विकासको मूलधारमा ल्याउने’ योजना सुनाउँछन्।

उनी काँठको स्थानीय हुनु। त्यसमा भूगर्भविद्को रूपमा चमेलिया जलविद्युत् आयोजना, अपर दोर्दी जलविद्युत् आयोजना र मेलम्ची खानेपानी आयोजनामा १० वर्ष काम गरेको अनुभव समेत रहेकाले विकाससँग आफ्नो शैक्षिक ज्ञान र स्थानीय आवश्यकतालाई जोड्न सकिने बताउँछन्।

पार्टीको स्थानीय तहमै भिजेर संगठन बनाएका उनी आर्थिक सशक्तीकरण, वैज्ञानिक पूर्वाधार विकास तथा शासन प्रक्रियामा युवाको नेतृत्व चाहिने तर्क गर्छन्। कागेश्वरी–मनोहरा नगरपालिकामा कान्तिपुर एकेडेमी स्थापनाको नेतृत्व गर्दै सार्वजनिक विद्यालय प्रणालीभित्र रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता भित्र्याउने पहिलो स्टार्टअप पहलको अगुवाइ उनैले गरेका थिए ।

भूविज्ञानमा स्नातकोत्तर (एमएस्सी) रक एन्ड सॉयल मेकानिक्स तथा उन्नत भू-भौतिकशास्त्र त्रिभुवन विश्वविद्यालयबाट उत्तीर्ण गरेका उनी काठमाडौँ क्षेत्र नं. २ मा फरक शैलीमा चुनावी प्रचारमा छन्। विगतमा 'हेभीवेट' नेताहरूको चुनावी प्रयोगशाला बनेको क्षेत्रमा उनी प्रतिष्पर्धीहरुप्रति आरोप-प्रत्यारोप हैन आफ्ना अजेण्डा बोकेर घर दैलोमा सक्रिय देखिन्छन्।

युवा भए पनि १७ वर्षको उमेरदेखि त्रिचन्द्र क्याम्पसबाट सुरु गरेको राजनीतिले उनलाई परिपक्व बनाएको देखिन्छ। उनी राजनीतिलाई केवल नारा र भाषणमा सीमित राख्ने परम्परालाई आफ्नो विज्ञतामार्फत चुनौती दिने प्रयासमा छन्। 

आफ्नो प्राविधिक ज्ञानलाई राजनीतिसँग मिसाएर संसदमा पुगेर काठमाडौँ-२ को पूर्वाधार विकास, खानेपानी समस्या र सहरी व्यवस्थापनमा काम गर्ने रणनीतिमा त छन् नै भूगर्भविद् भएकाले उनी खानी सम्बन्धी नीति निर्माणमा काम गर्न चाहन्छन्।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि हुन लागेको मध्यावधि निर्वाचनलाई परिवर्तनको रूपमा लिइए पनि प्रतिस्पर्धी दलका नेताहरूको सम्बोधनले तिक्तता र समाजमा विभाजित बढाउने जोखिम देखिन्छ। यस्तोमा उनी विचार र दल नमिल्नेलाई पनि सम्मान गर्दै सबैलाई समेट्नु पर्ने बताउँछन्। अनि व्यवहार पनि त्यस्तै देखिएको छ।

"पुराना दलले युवालाई अवसर दिँदैनन्" भन्ने भाष्यलाई चिर्दै शर्माले युवा जोस र अग्रजको अनुभवलाई जोड्ने पुलको काम गर्ने प्रयास गरिरहेका छन्।

निर्वाचनमा नयाँ हुनु मात्र योग्यता होइन; योग्यतासँगै स्पष्ट भिजन, स्वच्छ छवि र काम गर्ने दक्षता पनि आवश्यक देखिन्छ। यसमा शर्मासँग कांग्रेसको बलियो सङ्गठन, वैज्ञानिकको सोच देखिन्छ। 

सधैँ नयाँ रुचाउने क्षेत्र

काठमाडौं क्षेत्र नम्बर २ ले एक सांसदलाई बिरलै दोहोर्याएर जिताएको छ। नयाँलाई सधैँ यो क्षेत्रले स्वागत गर्छ। माधवकुमार नेपालदेखि सोविता गौतमसम्मको परीक्षण गर्यो यो क्षेत्रले। तर अधिकांश सांसद यो क्षेत्रका लागि असफल भए।

२०६४ देखि भएका एक उपचुनावसहितका ५ निर्वाचनमा यहाँका मतदाताले फरक- फरक पार्टीका उम्मेदवारलाई जिताएको छ। २०६४ मा माओवादी, २०७० मा एमालेका माधव कुमार नेपाल,२०७० मा भएको उपचुनावमा कांग्रेसका दीपक कुइँकेल र २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई जिताए यो क्षेत्रका मतदाताले ।

कहिलेकाहीँ चमत्कार पनि गर्छन् यो क्षेत्रका मतदाताले। माधव नेपालका प्रतिस्पर्धी माओवादीका उम्मेदवार झक्कु प्रसाद सुवेदीलाई २०६४ सालमा जिताएर त्यस्तै चमत्कार गरेका थिए यहाँका मतदाताले। यस पटक प्रमुख दलमध्ये कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ र युवा उम्मेदवार ल्याएका छन्। अन्य दलले पुरानैलाई दोहोर्याएका छन्।

प्रतिस्पर्धामा पाँच उम्मेदवार

जेनजी आन्दोलनपछिको युवा नेतृत्वको माग सम्बोधन गर्दै यो क्षेत्रमा २८ जना उम्मेदवार छन्। त्यसमध्ये प्रमुख प्रतिस्पर्धामा कांग्रेस, एमाले, रास्वपा, नेकपा र राप्रपाका उम्मेदवार देखिन्छन्। कांग्रेसबाट शर्मा उम्मेदवार छन्। एमालेबाट ६० वर्षका मणिराम फुयाल, रास्वपाबाट ४३ वर्षका सुनिल केसी र राप्रपाबाट ३८ वर्षकी कुन्तीदेवी पोखरेल उम्मेदवार छन् भने नेकपाबाट ३८ वर्षका नितेश पौडेल उम्मेदवार छन्।

२०७९ को निर्वाचनको आँकडा हेर्ने हो भने १५ हजार २ सय ३८ (१८ प्रतिशत) मत पाएर रास्वपाबाट सोविता निर्वाचित भएकी थिइन्। उनको प्रतिस्पर्धामा ११ हजार ५ सय ६६ मतसहित एमालेका मणिराम र तेस्रोमा ११ हजार २४ मत सहित राप्रपाकी कुन्ती तेस्रो भएकी थिइन्।

२०७९ मा काठमाडौँ-२ मा कांग्रेसले उम्मेदवार उठाएको थिएन। कांग्रेसले तत्कालीन माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीलाई समर्थन गरे पनि उनी चौथो भएकी थिइन्।

समानुपातिक हेर्दा रास्वपाले १३ हजार ८ सय ७९ मत पाएको थियो। दोस्रोमा राप्रपा ११ हजार ८ सय १६ मत देखिन्छ। एमाले ९ हजार ५ सय १४ र कांग्रेस ७ हजार १ सय ६७ मत पाएको थियो। माओवादीले २ हजार ९ सय १५ मात्र मत पाएको थियो।

यो पटकका एमालेका र राप्रपाका उम्मेदवार २०७९ कै दोहोरिएका छन्। रास्वपाबाट निर्वाचित सोविता चितवन ३ मा गएपछि रास्वपाले राप्रपाबाट प्रदेश सांसद भएका सुनिललाई उम्मेदवार बनाएको छ। 

०००

भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।

हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार–प्रसार सुरु भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।

जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरु गरेको हो।

मिसन पुस्तान्तरणको यसअघिका सामग्री:

फागुन ११, २०८२ सोमबार १९:४४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।