चुनावी प्रचारप्रसारमा नहिँड्न शिक्षक-कर्मचारीलाई आयोगको निर्देशन
काठमाडौं : निर्वाचन आयोगले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार नगर्न निर्देशन दिएको छ।
आइतबार एक विज्ञप्ति जारी आयोगले आचारसंहिता विपरीत निर्वाचन प्रचारप्रसारमा सामेल भएको पाइएमा निर्वाचन आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने चेतावनी दिएको छ।
केही शैक्षिक संस्थामा कार्यरत जनशक्ति निर्वाचन प्रचारप्रसारमा संलग्न भएको उजुरी र गुनासो प्राप्त आयोगले जनाएको छ। यस प्रकारका गतिविधि निर्वाचन आचारसंहिता र प्रचलित कानुनको बर्खिलाप हुने आयोगले भनेको छ।
“शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा तटस्थता तथा कानुनी दायित्वलाई मनन गर्दै आचारसंहिता विपरीत हुने कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसार नगर्न नगराउन सचेत गराइन्छ,” विज्ञप्तिमा भनिएको छ, “आचारसंहिताको व्यवस्था प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा ऐ. आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने ब्यहोरा जानकारी गराइन्छ।”
साथै, शैक्षिक संस्थाका भवन, सवारीसाधन वा अन्य सामग्री राजनीतिक कार्यक्रम, सभा वा सम्मेलनका लागि प्रयोग गर्न दिनु पनि आचारसंहिताको उल्लंघन हुने आयोगले स्पष्ट पारेको छ।
आयोगले जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत र निर्वाचन कार्यालयहरूलाई यस्ता गतिविधिमाथि सूक्ष्म अनुगमन गर्न र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिएको छ।

फागुन ११, २०८२ सोमबार १८:३३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।