वीरगञ्जमा सर्वपक्षीय बैठकः दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सा : पर्सामा बसेकाे सर्वदलीय तथा सर्वपक्षीय बैठकले तीन बुँदे निर्णय गरेको छ।
उक्त बैठकमा वीरगञ्ज महानगरपालिका वडा नं ११ श्रीपुरमा आइतबार भएको घटना तथा त्यसबाट सृजित घटनाक्रमको दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति भएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाशिघ्र सम्पन्न गर्ने र त्यस्ता दोषीलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरुले सहजीकरण गर्ने निर्णय गरेकाे हाे।
त्यसैगरी, बैठकले व्यक्तिगत घटना/दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव खलल पुग्ने गरी भड्काउने/दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने, घृणा फैलाउने भाषण प्रसारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुन बमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ।
आगामी दिनमा, धार्मिक, सामाजिक सद्भाव कायम राख्न एवं बैठकमा उपस्थिति सम्पूर्ण नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा सामाजिक एवं सम्पूर्ण जनप्रतिनिधिले आ-आफ्नो संस्था तथा निकायबाट विज्ञप्ति प्रकाशन गर्ने निर्णय समेत बैठकले गरेको छ।
आइतबार साँझ सवारी पार्किङको विषयलाई लिएर भएकाे विवाद बढ्दै गएर झडप भएकाे थियाे। सोही घटनालाई लिएर सोमबार पुनः तनावको वातावरण उत्पन्न भएपछि स्थिति नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार बिहान पौने १० बजेदेखि वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको छ।
फागुन ११, २०८२ सोमबार १७:३४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।