पाकिस्तानले गेरको हवाई आक्रमणमा अफगानिस्तानमा ८० जना भन्दा बढीको मृत्यु

पाकिस्तानले गेरको हवाई आक्रमणमा अफगानिस्तानमा ८० जना भन्दा बढीको मृत्यु

एजेन्सी : पाकिस्तानले अफगानिस्तानमा गरेको शक्तिशाली हवाई आक्रमणमा परी ८० जनाभन्दा बढीको मृत्यु भएको छ।  

अफगानिस्तानको नङ्गरहार, खोस्तमा ख्वारीजी मौलवी अब्बास सेन्टर, नङ्गरहारमा ख्वारीजी इस्लाम सेन्टर र ख्वारीजी इब्राहिम सेन्टर र पक्तिकामा ख्वारीजी मुल्लाह रहबर र ख्वारीजी मुखलिस स्थानहरूमा पाकिस्तानले आक्रमण गरेको हाे। 

पाकिस्तानले प्रतिबन्धित तहरीक-ए-तालिबान पाकिस्तान, यसका सम्बद्धहरू र इस्लामिक स्टेट-खोरासन प्रान्त (दाइश-खोरासन) का लागि पाकिस्तानी अधिकारीहरूले प्रयोग गर्ने शब्द फितना अल-खवारीजसँग सम्बन्धित शिविरहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। 

हालै पाकिस्तानको इस्लामाबाद, बाजौर र बन्नुमा भएका आत्मघाती बम विस्फोटहरूको प्रतिशोध स्वरूप यो कारबाही गरिएको पाकिस्तानी सञ्चार मन्त्रालयले जनाएको छ।

जियो न्यूजलाई दिएको अन्तर्वातामा पाकिस्तानका आन्तरिक राज्यमन्त्री तलाल चौधरीले अफगानिस्तान सीमापार आतङ्कवादको स्रोत बनेको आरोप लगाए।

उनले पाकिस्तानले आफ्ना नागरिकहरूको सुरक्षाका लागि आवश्यक उपायहरू अपनाइरहेको र करिब ७० हजार गुप्तचर-आधारित अपरेसनहरू घरेलु रूपमा सञ्चालन गरिएको उल्लेख गरे। उनले अफगान तालिबान सन् २०२० को दोहा सम्झौता पालना गर्न र आफ्नो भूमि आतंकवादी गतिविधिमा प्रयोग हुनबाट रोक्न असफल भएको दाबी गरे। 

तर, काबुलले भने पाकिस्तानको आरोपलाई अस्वीकार गर्दै आएको छ। उसले पाकिस्तानको सुरक्षा चुनौती उसको आन्तरिक विषय भएको र यसमा अफगानिस्तानको कुनै संलग्नता नरहेको दाबी गरेकाे छ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि यी दुई छिमेकी मुलुकबीच सीमा विवाद र सुरक्षाका मुद्दालाई लिएर तनाव बढ्दै गएको छ। सन् २०२५ अक्टोबरमा पनि यी दुई देशका सेनाबीच ठूलो सीमा झडप भएको थियो।

चरणवद्ध वार्ताका बावजुद, दुवै देशले स्थायी शान्ति हासिल गर्न संघर्ष गरेका छन्।

फागुन ११, २०८२ सोमबार १६:३८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।