‘कमेडी नाइट विथ च्याम्पियन्स’मा प्रचण्डमाथि व्यङ्ग्य गरेपछि नेकपानिकट जेनजी फोर्सको आपत्ति

‘कमेडी नाइट विथ च्याम्पियन्स’मा प्रचण्डमाथि व्यङ्ग्य गरेपछि नेकपानिकट जेनजी फोर्सको आपत्ति

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरूको संगठन ‘जेनजेड रेड फोर्स नेपाल’ले चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’को एउटा प्रस्तुतिप्रति गम्भीर आपत्ति जनाएको छ।

कार्यक्रमको ४७औं एपिसोडको ट्रेलरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेतृ रेनु दाहालमाथि गरिएको व्यङ्ग्यप्रति संगठनले विज्ञप्ति नै निकालेर असन्तुष्टि व्यक्त गरेको हो।

संगठनले फागुन १० गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, सार्वजनिक भएको ट्रेलरमा नेतृ रेनु दाहालको चरित्रचित्रण गर्ने क्रममा सोधिएको एउटा प्रश्न र त्यसको जवाफप्रति उनीहरूको मुख्य आपत्ति रहेको छ।

ट्रेलरमा प्रस्तोता विशाल भण्डारीले ‘तपाईंको ड्याडीले अहिलेसम्म के महान काम गर्नुभयो?’ भन्ने प्रश्नको जवाफमा रेणु दाहालको चरित्रमा देखिएकी सुयसा खनालले ‘आफैँले सुरू गरेको पार्टी आफैँले सक्काउनुभयो’ भनेर बोलेकी छन्।

यस्तो हल्का टिप्पणीले अध्यक्ष प्रचण्डको राजनीतिक योगदान, त्याग र ऐतिहासिक भूमिकालाई अवमूल्यन गरेको संगठनको ठहर छ।

विज्ञप्तिमा संयोजक प्रचण्डको बचाउ गर्दै उनले हरेक विषम परिस्थितिमा देशलाई निकास दिएको र देशको स्थायित्वका लागि पार्टीभन्दा माथि उठेर काम गरेको दाबी गरिएको छ।

विदेशी शक्तिको दबाबका बीच राष्ट्रिय स्वाधीनताको रक्षा गर्न प्रचण्डले निरन्तर भूमिका निर्वाह गरेको र आफ्नो निजी सम्पत्तिसमेत त्यागेर देश र जनताका लागि जीवन दाउमा लगाएको इतिहास नबिर्सन संगठनले चेतावनी दिएको छ।

जेनजेड रेड फोर्सले आफूहरू अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने र हास्यव्यङ्ग्य कलाकारहरूको पेशागत चुनौती बुझेको भए तापनि सार्वजनिक व्यक्तित्वका विषयमा प्रस्तुति दिँदा ऐतिहासिक योगदानप्रति न्यूनतम सम्मान हुनुपर्ने बताएको छ।

‘आज प्राप्त अधिकार र स्वतन्त्रता सहजै आएको होइन, धेरै त्याग र बलिदानको परिणाम हो’, विज्ञप्तिमा भनिएको छ।

संगठनले आगामी दिनमा आदरणीय नेतृत्वप्रति टिप्पणी गर्दा अभिव्यक्ति स्वतन्त्रताको मूल्य र त्यसका लागि भएको संघर्षलाई स्मरण गर्दै सन्तुलित र जिम्मेवार ढंगले प्रस्तुत हुन समेत कमेडी च्याम्पियन विथ नाइट टिमलाई आग्रह गरेको छ।

उता कलाकार खनालले भने ट्रेलर हेरेकै आधारमा कसैको हास्यव्यंग्य गर्न पाउने स्वतन्त्रतामाथि बन्देज लगाउने दुस्प्रयास गरेको भन्दै जेनजेड रेड फोर्सको विज्ञप्तिप्रति आपत्ती जनाएकी छन्। उनले राजतन्त्रमा समेत हास्यव्यंग्य गर्न पाउने स्वतन्तत्रा भएको समेत स्मरण गराएकी छन्।

कार्यक्रमको ४७औं एपिसोडमा टोलीले एमालेका केन्द्रीय सचिव महेश बस्नेतलाई अतिथि बनेर आएका छन्।

फागुन ११, २०८२ सोमबार १०:१०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।