मेक्सिकोका ‘मोस्ट वान्टेड’ ड्रग माफिया ‘एल मेन्चो’ सेनाको कारबाहीमा मारिए, एयरपोर्टमा तोडफोड

मेक्सिकोका ‘मोस्ट वान्टेड’ ड्रग माफिया ‘एल मेन्चो’ सेनाको कारबाहीमा मारिए, एयरपोर्टमा तोडफोड

एजेन्सी : मेक्सिकोको सेनाले आइतबार एक ठूलो कारबाहीका क्रममा देशकै सबैभन्दा ठूलो लागुऔषध गिरोह (ड्रग कार्टेल) का नाइकेलाई मारेको छ।

मारिनेमा जलिस्को न्यु जेनेरेसन कार्टेलका प्रमुख नेमेसियो रुबेन ओसेगुएरा सर्भेन्टेस उर्फ एल मेन्चो रहेका छन्। उनी विश्वकै सर्वाधिक खोजी गरिएका अपराधीहरूको सूचीमा थिए।

मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार जलिस्को प्रान्तमा भएको सेनाको कारबाहीमा उनी गम्भीर घाइते भएका थिए। उनलाई हेलिकप्टरमार्फत उपचारका लागि मेक्सिको सिटी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

एल मेन्चोको मृत्युको खबर फैलिएसँगै जलिस्कोसहित मेक्सिकोका विभिन्न राज्यमा उनका समर्थकहरूले उग्र प्रदर्शन गरेका छन्। सडक र राजमार्गहरू अवरुद्ध गर्दै प्रदर्शनकारीले दर्जनौं गाडी र बसहरूमा आगजनी गरेका छन्।

पर्यटकीय शहरहरू ग्वाडालाहारा र पोर्टो भालार्टामा धुवाँको मुस्लो र भागदौड मच्चिएको छ। डरका कारण मानिसहरू ज्यान जोगाउन एयरपोर्टतिर भागिरहेका छन्।

अवस्था तनावपूर्ण बनेपछि एयर क्यानडाले पोर्टो भालार्टा जाने आफ्ना सबै उडानहरू रद्द गरेको छ र यात्रुहरूलाई विमानस्थल नजान सल्लाह दिएको छ।

को हुन् एल मेन्चो र कति शक्तिशाली?
सन् २००९ मा स्थापना भएको सीजेएनजे कार्टेल मेक्सिकोको अर्को कुख्यात सिनालोआ कार्टेल जत्तिकै शक्तिशाली मानिन्छ। यसको तस्करी सञ्जाल अमेरिकाका ५० वटै राज्यमा फैलिएको छ।

अमेरिकी सरकारले एल मेन्चोलाई पक्रन मद्दत गर्ने सूचना दिनेलाई १५ मिलियन डलर इनाम घोषणा गरेको थियो। डोनाल्ड ट्रम्पको प्रशासनले यस गिरोहलाई विदेशी आतंकवादी संगठन घोषणा समेत गरेको थियो।

मेक्सिकोलाई कोकिन, हेरोइन र फेन्टानाइल जस्ता खतरनाक लागुऔषध अमेरिका पठाउने मुख्य केन्द्र मानिन्छ। यी ड्रग माफियाहरू यति शक्तिशाली छन् कि धेरै इलाकामा उनीहरूले समानान्तर सरकार नै चलाउँछन् र स्थानीय प्रशासनले उनीहरूलाई छुन समेत सक्दैन।

ट्रम्पको चेतावनी र मेक्सिकोको जवाफ
हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा मेक्सिकोमा ड्रग माफियाको राज चलेको र यसले बर्सेनि साढे २ लाखदेखि ३ लाख अमेरिकीको ज्यान गइरहेको बताएका थिए।

उनले जलमार्गबाट हुने तस्करी ९७ प्रतिशत रोकेको दाबी गर्दै अब जमिनमा रहेका कार्टेलविरुद्ध कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए।

ट्रम्पको यस्तो भनाइपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबमले कडा जवाफ दिँदै अमेरिका कुनै पनि बाहिरी देश वा क्षेत्रको मालिक नभएको बताएकी थिइन्।

रिपोर्टका अनुसार मेक्सिकोका यी ठूला ड्रग कार्टेलहरूसँग देशको सेनासँग भन्दा कम हतियार छैन। मेक्सिकोको सबैभन्दा ठूलो सिनालोआ कार्टेलसँग ६०० भन्दा बढी विमान र हेलिकप्टर छन्, जुन मेक्सिकोको राष्ट्रिय एयरलाइन्स ‘एयरो मेक्सिको’ सँग भएको भन्दा पाँच गुणा बढी हो।

एल मेन्चोको समूहसँग मेसिन गन, ट्याङ्क, रकेट लन्चर र ड्रोनहरू समेत छन्। सन् २०२२/२३ को तथ्यांक अनुसार यी कार्टेलहरूमा १ लाख ६० हजारदेखि १ लाख ८५ हजार मानिसहरू आबद्ध छन्, जसलाई उनीहरूको प्राइभेट सेना मानिन्छ।

संयुक्त राष्ट्रसंघको ‘विश्व ड्रग रिपोर्ट २०२५’ को अनुमान अनुसार मेक्सिकन कार्टेलहरू वार्षिक १२.१ बिलियन डलर (करिब १६ खर्ब रुपैयाँ) भन्दा बढी कमाउँछन्।

यो कमाइसँगै उनीहरू कोलम्बियाका माफियाहरूलाई पछि पार्दै विश्वकै सबैभन्दा धेरै कमाउने आपराधिक समूह बनेका छन्।

फागुन ११, २०८२ सोमबार ०८:३९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।