ट्रम्पको रिसोर्टमा हतियारसहित घुस्न खोज्ने युवक सुरक्षाकर्मीको गोलीबाट मारिए

ट्रम्पको रिसोर्टमा हतियारसहित घुस्न खोज्ने युवक सुरक्षाकर्मीको गोलीबाट मारिए

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित ‘मार-ए-लागो’ रिसोर्टमा जबरजस्ती पस्न खोज्ने एक युवकलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन्।

आइतबार राति करिब १:३० बजे भएको यस घटनामा ती युवकको घटनास्थलमै मृत्यु भएको हो। राष्ट्रपतिको सुरक्षा गर्ने अमेरिकी एजेन्सी ‘सिक्रेट सर्भिस’का अनुसार, ती युवक गैरकानूनी रूपमा रिसोर्टभित्र पस्न खोजिरहेका थिए।

उनको साथमा एउटा सटगन बन्दुक र इन्धन राख्ने रातो भाँडो थियो। मारिने युवक नर्थ क्यारोलिनाका २० वर्षीय बासिन्दा हुन्, तर उनको नाम भने सार्वजनिक गरिएको छैन। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

घटनाको समयमा राष्ट्रपति ट्रम्प उक्त रिसोर्टमा थिएनन्। उनी वासिङ्टन डीसीस्थित ह्वाइट हाउसमा थिए। यद्यपि, ट्रम्पले प्रायः आफ्नो बिदाको समय यही रिसोर्टमा बिताउने गर्छन्।

कसरी भयो घटना?
सिक्रेट सर्भिसका अधिकारीहरूका अनुसार, रिसोर्टको उत्तरी गेटबाट एउटा कार बाहिर निस्किँदै गर्दा ती युवकले भित्र घुस्ने प्रयास गरेका थिए। दुई जना एजेन्टले उनलाई रोकेर हतियार र इन्धनको भाँडो भुइँमा राख्न भनेका थिए।

युवकले इन्धनको भाँडो त भुइँमा राखे, तर बन्दुकलाई भने गोली चलाउने पोजिसनमा तेर्साए। त्यसपछि सुरक्षाकर्मीले बाध्य भएर गोली चलाएको सुरक्षाकर्मीको दाबी छ।

अनुसन्धान गर्दा ती युवक केही दिनदेखि बेपत्ता भएको र परिवारले प्रहरीमा उजुरी दिएको खुलेको छ। उनले नर्थ क्यारोलिनाबाट आउने क्रममा बाटोमै बन्दुक किनेको र उनको कारमा बन्दुकको खाली बट्टा पनि भेटिएको छ।

यसअघि पनि भएको थियो ट्रम्पमाथि हमला
ट्रम्पमाथि यसअघि पनि ज्यान लिने कोसिस भएको थियो। गत १३ जुलाई २०२४ मा एउटा चुनावी र्यालीका क्रममा एक २० वर्षीय युवकले ट्रम्पमाथि ४०० फिट टाढाबाट राइफलले गोली चलाएका थिए।

गोली ट्रम्पको कानलाई छुँदै गएको थियो। उक्त आक्रमणकारीलाई सिक्रेट सर्भिसका स्नाइपरले तत्कालै मारेका थिए। अमेरिकामा राष्ट्रपति, उपराष्ट्रपति र उनीहरूका परिवारको सुरक्षा गर्ने मुख्य जिम्मा ‘युनाइटेड स्टेट्स सिक्रेट सर्भिस’को हुन्छ।

सन् १८६५ मा नक्कली नोट रोक्न स्थापना भएको यो एजेन्सीले सन् १९०१ मा तत्कालीन राष्ट्रपति विलियम म्याकिन्लेको हत्या भएपछि मात्रै राष्ट्रपतिको सुरक्षाको जिम्मा पाएको हो।

यसले राष्ट्रपति, उपराष्ट्रपति, पूर्व राष्ट्रपति (जीवनभर), विदेशी राष्ट्रप्रमुख र राष्ट्रपतिका मुख्य उम्मेदवारहरूको सुरक्षा गर्छ। वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिले यो सुरक्षा लिनैपर्ने अनिवार्य नियम छ।

कस्तो छ ट्रम्पको रिसोर्ट?
ट्रम्पको ‘मार-ए-लागो’ रिसोर्टमा जो कोही सजिलै प्रवेश गर्न पाउँदैन। यसको आजीवन सदस्यता लिन करिब ८ करोड ५० लाख रुपैयाँ लाग्छ।

पैसा भएर मात्र पनि पुग्दैन, सदस्यता लिन व्यक्तिको बैंक खाता, पारिवारिक पृष्ठभूमि र सामाजिक स्तरको कडा जाँच गरिन्छ। विश्वभरका धेरै धनी व्यक्तिहरूले आवेदन दिए पनि थोरैले मात्र यहाँको सदस्यता पाउँछन्।

फागुन ११, २०८२ सोमबार ०८:०६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।