लिची बगानमा जोडिएकी रन्जिता पाँच लाख धरौटीमा छुटिन्
काठमाडौँ : पोखराको लिचिबारी घुस प्रकरणमा जोडिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाएको विशेष अदालतले पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई ५ लाख मात्र धरौटीमा रिहा गर्न आदेश दियो। सो प्रकरणमा बिचौलियासँग मिलेर अदालतको आदेश अनुसार दर्ता हुनुपर्ने जग्गाका लागि समेत पैसा माग्न उनी समेत संलग्न देखिएकी थिइन्।
यही आधारमा प्रतिवादी बनेकी उनलाई आइतबार विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट, न्यायाधीशद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सामान्य धरौटी माग गरेको थियो। उनी आइतबारै धरौटी रकम बुझाएर रिहा भइन्।
अदालतले व्यक्तिको नाममा दर्ता गर्न आदेश दिए पनि कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ का रूपमा परिचित १ सय ३४ रोपनी जग्गा अदालतले हकवाला ठहर्याएको सुजन शाह ठकुरीसहितको नाममा पास गर्न तत्कालीन मन्त्रीहरु, कर्मचारी र बिचौलिया मिलेर रकम लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो। पहिला मन्त्री गुप्ताको अडियो सार्वजनिक भयो। त्यसपछि उनले राजीनामा दिएका थिए।
त्यसपछि यो प्रकरणमा रञ्जिता समेत जोडिइन्। उनले यो प्रकरणमा बिचौलियाको रूपमा काम गरेका व्यक्तिसँग रकम मागेको च्याट सार्वजनिक भएको थियो। त्यसकै आधारमा उनी पनि प्रतिवादी बनिन्। तर यही प्रकरणमा जोडिएका अर्का तत्कालीन मन्त्री बलराम अधिकारी भने प्रतिवादी बनेनन्। उनीसहित उनको छोरा समेत यो प्रकरणमा जोडिएका थिए।
मन्त्री गुप्ता र बलराम अधिकारी एमालेबाट मन्त्री बनेका थिए। रञ्जिता भने नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सरकारमा सहभागी भएकी थिइन्। अहिले उनको पार्टी नेकपामा विलय भइसकेको छ।
फागुन १०, २०८२ आइतबार २२:०७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।