चुनावमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

चुनावमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। 

आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकारलाई पत्राचार गर्दै सिफारिस गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

निर्वाचनमा सबै जनताको उत्साहजनक सहभागिता वृद्धि होस् भन्ने उद्देश्यका साथ तीन दिन बिदा सिफारिस गरिएको भट्टराईले बताए ।

विगतका निर्वाचनहरूमा मतदानको दिन मात्र बिदा दिने चलन रहेकाे थियाे।  

आयोगले सिफारिस गरे अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेमा करिब एक साता लामो बिदा हुनेछ।

फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ। तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदानस्थलसम्म जान सहज हुने विश्वास गरिएको छ। 

फागुन १०, २०८२ आइतबार १७:१०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।