हलिउडलाई तर्साउने चिनियाँ ‘एआई’!

हलिउडलाई तर्साउने चिनियाँ ‘एआई’!

एजेन्सी : टिकटकको मातृ कम्पनी चिनियाँ टेक जाइन्ट ‘बाइटडान्स’ले विकास गरेको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडलले यतिबेला हलिउडमा हलचल मच्चाएको छ।

यसले गर्न सक्ने जादुमयी काम र यसले सिङ्गो रचनात्मक क्षेत्रमा पार्न सक्ने प्रभावका कारण चर्चा र चिन्ता दुवै बढेको हो।

के हो ‘सीडान्स २.०’ र किन यति धेरै चर्चा?
बाइटडान्सले ल्याएको ‘सीडान्स २.०’ ले केही प्रम्प्टकै भरमा साउन्ड इफेक्ट र डाइलगसहितको सिनेमा स्तरको भिडियो बनाउन सक्छ।

यो एआई पहिलो पटक जुन २०२५ मा सामान्य रूपमा सार्वजनिक भएको थियो। तर ८ महिनापछि आएको यसको दोस्रो संस्करणले भने ठूलो तहल्का मच्चाएको छ। यसको प्रयोग गरेर बनाइएका स्पाइडर-म्यान र डेडपुल जस्ता लोकप्रिय हलिउड पात्रका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

भिडिओस्टेट नामक स्टुडियोका जन-विलेम ब्लोम भन्छन्, ‘पहिलो पटक मलाई यो एआईले बनाएको भिडियो जस्तो लागेको छैन, यो त सिधै कुनै वास्तविक फिल्मको सुटिङबाट आएजस्तो लाग्छ।’

मिडजर्नी र ओपनएआईको सोरा जस्ता अन्य एआई टुलहरूले जस्तै यसले पनि टेक्स्टबाट भिडियो बनाउँछ। तर, यसले टेक्स्ट, दृश्य र अडियोलाई एकैसाथ यति राम्रोसँग जोड्छ कि विज्ञहरू नै छक्क परेका छन्।

यसले चर्चित हलिउड अभिनेता विल स्मिथले चाउचाउ खाइरहेको र स्प्यागेटी मोन्स्टरसँग लडिरहेको एकदमै वास्तविक र ठूलो बजेटको फिल्म जस्तो भिडियो बनाइदिएको छ।

कपिराइटको विवाद र हलिउडको चिन्ता
यो प्रविधि जति आकर्षक छ, यसले निम्त्याएको कानूनी झमेला त्यति नै ठूलो छ। हलिउडका ठूला स्टुडियोहरू डिज्नी र प्यारामाउन्टले बाइटडान्समाथि प्रतिलिपि अधिकार (कपिराइट) उल्लङ्घनको आरोप लगाएका छन्।

उनीहरूले आफ्ना पात्रहरू (जस्तै: स्पाइडर-म्यान, डार्थ भेडर) प्रयोग नगर्न चेतावनी पत्र पठाएका छन्। उता जापानले पनि चर्चित एनिमे पात्रहरूको भिडियो भाइरल भएपछि बाइटडान्समाथि अनुसन्धान थालेको छ।

विज्ञहरूका अनुसार एआई कम्पनीहरूले मानिसको काम र अधिकारभन्दा प्रविधिलाई प्राथमिकता दिइरहेका छन्। उनीहरूले सर्जकलाई पैसा नतिरी उनीहरूकै डाटा प्रयोग गरेर एआईलाई तालिम दिइरहेका छन्। बाइटडान्सले भने सुरक्षाका उपायहरू बलियो बनाउने बताएको छ।

यसअघि न्युयोर्क टाइम्सले ओपनएआईविरुद्ध र रेडिटले पर्प्लेक्सिटीविरुद्ध बिना अनुमति डाटा चोरी गरेको भन्दै मुद्दा हालिसकेका छन्।

साना स्टुडियोका लागि भने वरदान
विवादका बाबजुद साना फिल्म निर्माता र स्टुडियोका लागि भने ‘सीडान्स’ निकै उपयोगी देखिएको छ। सिङ्गापुरको टाइनी आइल्यान्ड प्रोडक्सनका डेभिड क्वोकका अनुसार, यो एआईले साना कम्पनीलाई पनि ठूलो बजेट लाग्ने फिल्म बनाउन सघाउँछ।

एसियामा अहिले छोटा भिडियो र माइक्रो-ड्रामाको निकै चलन छ। थोरै बजेटमा बन्ने यस्ता ड्रामामा खर्च बचाउन सामान्य पारिवारिक कथा मात्र समेटिन्थ्यो। तर अब एआईको मद्दतले थोरै खर्चमै साइ-फाई र एक्सन दृश्यहरू सजिलै थप्न सकिने क्वोक बताउँछन्।

एआईको रेसमा अमेरिकाभन्दा चीन अघि?
सीडान्सको सफलताले फेरि एकपटक चिनियाँ प्रविधिलाई चर्चाको शिखरमा पुर्याएको छ। गत वर्ष अर्को चिनियाँ मोडल ‘डीपसीक’ले सस्तो मूल्यमै च्याटजीपीटीलाई पछि पार्दै तहल्का मच्चाएको थियो।

अनुसन्धानकर्ता शानन कोहनी भन्छन्, ‘यसले चिनियाँ मोडलहरू विश्वको उत्कृष्ट प्रविधिको हाराहारीमा पुगिसकेको संकेत गर्छ। बाइटडान्सले एक्कासि यस्तो प्रविधि ल्याउन सक्छ भने चिनियाँ कम्पनीहरूसँग अरू कस्ता मोडलहरू लुकेका होलान्?’

अमेरिकालाई प्रविधिमा उछिन्ने उद्देश्यले चीनले एआई र रोबोटिक्समा ठूलो लगानी गरिरहेको छ। विश्लेषक बिल बिशपका अनुसार चीनमा नयाँ वर्षको बिदालाई अहिले ‘एआई होलिडे’ को रूपमा लिन थालिएको छ। बिदामा लाखौं मानिस घरमा हुने भएकाले कम्पनीहरूले यही बेला नयाँ एआई एपहरू सार्वजनिक गर्ने गरेका छन्।

सन् २०२६ सम्ममा चीनमा एआईको प्रयोग च्याटबटमा मात्र सीमित नभएर दैनिक कारोबार, कोडिङ र भिडियो निर्माणमा आम मानिसको अभिन्न अंग बन्ने उनको अनुमान छ।

फागुन १०, २०८२ आइतबार १४:०६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।