मेची भन्सारबाट अलैँचीकाे निर्यात ६० प्रतिशतले बढ्यो, चिया र अम्रिसोकाे भने घट्यो

मेची भन्सारबाट अलैँचीकाे निर्यात ६० प्रतिशतले बढ्यो, चिया र अम्रिसोकाे भने घट्यो

काठमाडाैं : चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यातमा वृद्धि भएको छ भने चिया र अम्रिसो निर्यात घटेको छ।

यस वर्ष पूर्वी नाकाबाट अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार माघ मसान्तसम्म आठ अर्ब ६१ करोड २० लाख सात हजार बराबरको अलैँची निर्यात भएको हो । 

चालु आवको दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको हुमागाईंले जानकारी दिए। अघिल्लो आव २०८१/८२ को सोही  अवधिमा पाँच अर्ब ३८ करोड ८० लाख २० हजार बराबरको अलैँची निर्यात भएको उनले बताए। 

चालु आवको दश महिनामा चियाको निर्यात भने २६ दशमलव ७० प्रतिशतले घटेको छ। उक्त अवधिमा दुई अर्ब ३२ करोड १२ लाख ५६ हजार मूल्य बराबरको चिया निर्यात भएको छ, जबकि आव २०८१/८२ को सोही अवधिमा तीन अर्ब १६ करोड ६२ लाख १३ हजार बराबरको चिया निर्यात भएको थियाे। 

कार्यालयको तथ्याङ्क अनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ९१ दशमलव १० प्रतिशत, छुर्पी ६३ दशमलव ३० प्रतिशत, अदुवा, सुठो एक सय एक दशमलव ८० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ३१६ दशमलव २० प्रतिशत, जडीबुटी ९२ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ। 

यसैगरी अम्रिसोमा २४ दशमलव ९० प्रतिशतले कमी आएको छ।

मेची भन्सारबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्त सम्ममा १६ अर्ब तीन करोड १५ लाख ८३ हजार बराबरको मालवस्तु निर्यात भएको छ। 
 

फागुन १०, २०८२ आइतबार १३:४२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।