धार्मिक सहिष्णुता र सम्मान कायम राख्न सरकारको अपिल
काठमाडौं : गृह मन्त्रालयले जातजाति, वर्ग र सम्प्रदायबीच द्वेष फैलाउने कार्य कानुनद्वारा वर्जित र दण्डनीय रहेको स्मरण गराउँदै सामाजिक सद्भाव र मर्यादा कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।
रौतहट र दाङलगायत तराईका जिल्लाहरूमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गतिविधि बढेपछि मन्त्रालयले त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ।
रौतहटको गौरमा दुई समुदायबीचको विवादले हिंसात्मक रूप लिएपछि स्थानीय प्रशासनले शनिबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेलगत्तै मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो चेतावनी दियो।
बैठकले विद्यमान सुरक्षा चुनौतीको समीक्षा गर्दै साम्प्रदायिकता भड्काउने र हिंसालाई प्रश्रय दिने गतिविधिमाथि शून्य सहनशीलता अपनाउने निर्णय गरेको छ।
बैठकपछि मन्त्रालयका सहप्रवक्ता रमा आचार्य (सुवेदी) द्वारा जारी विज्ञप्तिमा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड र राजनीतिक दलका झण्डा जलाउने जस्ता अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई सूक्ष्म ढंगले निगरानी गरी कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भइसकेको उल्लेख छ।
गौरमा बिहीबार राति बौधिमाई नगरपालिका-९ बाट आएको विवाहको जन्ती सबगढास्थित मस्जिद अगाडिबाट बाजा बजाउँदै जाने क्रममा अवरोध भएपछि विवाद भएको थियो। सोही क्रममा भएको ढुंगा हानाहानमा दर्जनौं व्यक्ति घाइते भएका थिए भने शुक्रबार राति पुनः भएको झडपमा थप ६ जना घाइते भएका छन्।
शनिबार बिहान करिब चार-पाँच सयको उत्तेजित भीडले एक स्कार्पियो गाडीमा आगजनी गरेपछि स्थिति नियन्त्रण बाहिर जाने जोखिम बढेको थियो। स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले शनिबार दिउँसो १ बजेदेखि लागू हुने गरी गौर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
फागुन ९, २०८२ शनिबार २२:१९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।