‘सडक किन बनेन?’ भनेर प्रश्न गर्दा नुवाकोटमा एमाले कार्यकर्ताद्वारा स्थानीय युवामाथि कुटपिट

‘सडक किन बनेन?’ भनेर प्रश्न गर्दा नुवाकोटमा एमाले कार्यकर्ताद्वारा स्थानीय युवामाथि कुटपिट
फाइल तस्बिर

विदुर : प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका क्रममा नुवाकोटको विदुर नगरपालिका-८ भैरमकोट पुगेका एमालेका उम्मेदवारको टोलीलाई मोटरबाटोको विषयमा प्रश्न गर्दा एक स्थानीय युवामाथि कुटपिट भएको छ।

फागुन २१ गते हुने निर्वाचनका लागि शनिबार विहान भोट माग्न गएका नुवाकोट क्षेत्र नम्बर २ का एमाले उम्मेदवार केशव पाण्डेका कार्यकर्ताले स्थानीय चेतनाथ अर्याल (बासुदेव)माथि हातपात तथा कुटपिट गरेका हुन्।

लामो समयदेखि विदुर-८ भैरमकोटस्थित मोटरबाटो नबनेको विषयमा आक्रोशित रहेका अर्यालले उम्मेदवारको गाडी रोकेर प्रश्न गरेका थिए।

नाम उल्लेख नगर्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताएअनुसार, पाण्डेको टोली माथितिर गइरहेको समयमा अर्यालले गाडी रोकेर, ‘यहाँसम्म आउने बाटो यस्तो खराब छ, भोट माग्न आउन लाज लाग्दैन?’ भन्दै प्रश्न गरेका थिए।

अलि कडा शैलीमा प्रश्न राखेपछि गाडीमा रहेका एमाले कार्यकर्ताहरू बाहिर निस्केर अर्यालमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीको भनाइ छ।

कुटपिटपछि देउरालीबाट त्रिशुली बजारतर्फ आउँदै गरेको गाडीमा चढेर अर्याल आफैँ उजुरी लिएर प्रहरी चौकी पुगेका थिए। जिल्ला प्रहरी कार्यालय नुवाकोटले उनलाई शारीरिक परीक्षणका लागि स्थानीय त्रिशुली अस्पताल लगेको थियो।

एमाले नेताको दाबी : ‘कुटपिट होइन, धकेलाधकेल मात्र हो’
यता प्रहरी र एमालेका स्थानीय नेताले भने घटनालाई सामान्य भन्दै ढाकछोप गर्ने प्रयास गरेका छन्। उकेरासँगको टेलिफोन कुराकानीमा विदुर नगरपालिका वडा नम्बर ८ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार समेत रहिसकेका अरुण कुमार श्रेष्ठले घटनालाई ‘सामान्य’ भनेका छन्।

‘त्यस्तो कुटपिट भएको होइन, बाटो किन बनेन भनेर आक्रोशित हुँदै उसले गाडीमा हातपात गर्न खोजेपछि अरू साथीहरूले धकेलेर पन्छाएका मात्र हुन्,’ श्रेष्ठले भने, ‘अहिले प्रहरीमा दुवै पक्ष बसेर कुरा मिलिसक्यो, बुवालाई बोलाएर जिम्मा लगाइसक्यौँ।’

‘अर्यालले उम्मेदवार पाण्डेको कठालो समातेको हो?’ भन्ने उकेराको प्रश्नमा श्रेष्ठले स्पष्ट पार्दै भने, ‘कठालै समातेको त हैन।’ 

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी विक्रम लामाले पनि घटनामा ठूलो कुटपिट नभएको बताए।

डीएसपी लामाले भने, ‘उम्मेदवार घरदैलोमा जाँदा बाटोमा गाडी रोकेर किन बाटो बनेन भनेर सोध्ने क्रममा उनको शैली अलि राम्रो भएन। गाडीमा हान्न खोज्ने जस्तो दुर्व्यवहार भएपछि सामान्य धकेलाधकेल भएको हो। उनी आफैँ प्रहरीमा आएपछि हामीले मेडिकल गराएका हौँ। अहिले दुवै पक्षबीच कुरा मिलेर फर्किने क्रममा हुनुहुन्छ।’

पीडितका बुवा भन्छन्- ‘छोरालाई भेटेकै छैन’
प्रहरी र एमाले नेता श्रेष्ठले पीडित युवालाई परिवारको जिम्मा लगाइसकेको र कुरा मिलिसकेको दाबी गरे पनि पीडितका बुवा रेशमराज अर्यालले भने त्यसको खण्डन गरेका छन्।

राति ८ बजेतिर उकेरासँग कुरा गर्दै उनले आफूले अहिलेसम्म छोरालाई नभेटेको बताए।

‘अहिले केहीबेरअघि मात्र अरुण श्रेष्ठले फोन गरेर छोरो लिन आउनु भनेर बोलाएका छन्। म त घरमै छु। बोलाएपछि अब जाने तयारीमा छु’, उनले भने।

बुवाको यो भनाइले प्रहरी र एमाले कार्यकर्ताले घटनालाई सामसुम पार्न हतार-हतार ‘जिम्मा लगाइसकेको’ भनी झुटो दाबी गरेको प्रष्ट भएको छ।

विहानको घटनापछि विदुर-८ तय भएको एमालेको भेटघाटको कार्यक्रम समेत स्थगित भएको थियो।

फागुन ९, २०८२ शनिबार २०:४६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।