निर्वाचनको समयमा शतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडाैं : प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेगरी तयारीका साथ काम गर्न निर्देशन दिएकी छन्।
शनिबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै उनले निर्वाचनको समयमा सुरक्षा व्यवस्था र शान्ति कायम राख्न उच्च सतर्कता अपनाउन आग्रह गरिन्।
जिल्लास्थित सुरक्षा समितिले जिल्लाको चुनौतीका अवस्था पहिचान गरेर त्यसैअनुरुपको सुरक्षा रणनीति बनाएर अघि बढ्न प्रधानमन्त्रीबाट निर्देशन भएको लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए।
जिल्लागत रुपमा मतदानस्थललाई चुनौती पहिचान गरी तिनलाई वर्गीकरण गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको एकीकृत सुरक्षा योजनाअनुरुप अघि बढ्न निर्देशन दिएको प्रमुख सचिव काप्रीले बताए।
प्रधानमन्त्री कार्कीले निर्वाचन अवधिमा विभिन्न जिल्लामा स्थानीय स्तरका समस्या रहेको उल्लेख गर्दै विशेषगरी तराई क्षेत्रमा राजनीतिक दलहरूबीचको तीव्र प्रतिस्पर्धा झडपमा परिणत हुन सक्ने सम्भावना रहेको आशंका व्यक्त गरिन्।
उनले दलहरूबीच झण्डा जलाउने लगायतका घटनाहरूको सूचना प्राप्त भएको र यसले निर्वाचनको वातावरण तनावपूर्ण बनाउन सक्ने भएकाले पूर्वतयारी आवश्यक रहेको बताइन्। सम्भावित विवाद र अवाञ्छित गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायले प्रभावकारी समन्वय गर्नुपर्नेमा उनले जोड दिइन्।
बैठकमा प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये प्रमुख रुपमा तराईका जिल्लामा खुला सीमाना प्रमुख साझा चुनौतीका रुपमा रहेकाे विषयमा छलफल भएको थियाे।
फागुन ९, २०८२ शनिबार १६:१२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।