जय ट्रफी एलिट कप : रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा एपीएफलाई ८ विकेटको जित
काठमाडौं : कप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङ र बलिङको मद्दतले नेपाल एपीएफ क्लबले जय ट्रफी मेन्स एलिट कप अन्तर्गतको खेलमा बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको छ।
मुलपानी क्रिकेट मैदानमा भएको दुई दिने खेलमा टस जितेर पहिले बलिङ रोजेको एपीएफले बागमतीलाई पहिलो इनिङ्समा २०७/९ (इनिङ्स घोषणा) मा रोकेको थियो।
बागमतीका लागि विवेक मगरले ४२, आशुतोष घिरैयाले ३५, रिजन ढकालले ३५ र शुभ कंसाकारले ३४ रन बनाए। एपीएफका इर्शाद अहमदले ३ तथा रोहित पौडेल र युवराज खत्रीले समान २-२ विकेट लिए।
जवाफमा ब्याटिङमा उत्रिएको एपीएफले पहिलो इनिङ्समा २३९ रन बनाउँदै ३२ रनको अग्रता लिएको थियो। एपीएफका लागि कप्तान रोहित पौडेलले ११३ बलमा १३ चौकासहित अविजित ८७ रनको उत्कृष्ट पारी खेले।
त्यस्तै, सन्दीप जोराले ४८ बलमा ११ चौका र १ छक्काको मद्दतले ६१ रन बनाए। बागमतीका रिजन ढकालले ३ विकेट लिए।
दोस्रो इनिङ्समा ब्याटिङमा आएको बागमतीको प्रदर्शन भने सम्झनलायक रहेन। बागमती ४७.१ ओभरमा १६८ रनमै अलआउट भयो। कप्तान ईशान पाण्डेले १०७ बलमा ८४ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याटरले साथ दिन नसक्दा बागमती सस्तोमै समेटिएको थियो।
एपीएफका इर्शाद अहमदले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने रोहित पौडेल र अभिषेक गौतमले २-२ विकेट लिए।
१३७ रनको विजयी लक्ष्य पाएको एपीएफले २०.२ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। एपीएफका लागि ओपनर आसिफ शेखले ५९ बलमा ५९ रन र कप्तान रोहित पौडेलले ४३ बलमा अविजित ५६ रनको पारी खेल्दै टोलीलाई सहज जित दिलाए।
खेलमा बलिङतर्फ कुल ४ विकेट र ब्याटिङतर्फ अविजित ८७ तथा ५६ रनको महत्वपूर्ण योगदान दिएका एपीएफका कप्तान रोहित पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित भए।
फागुन ९, २०८२ शनिबार १४:२९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।