बारामा कांग्रेसको चुनावी कार्यक्रममा सरकारी विद्यालयको सामान लैजाँदै गर्दा स्थानीयले बाटैमा रोके
सर्लाही : बारामा कांग्रेसको चुनावी कार्यक्रममा सरकारी विद्यालयको सामग्री लैजाने क्रममा स्थानीयले बाटोमा रोकेका छन् ।
बाराको आदर्श कोतवाल-१ स्थित श्री नेरा आधारभूत विद्यालयको खाजा बनाउन प्रयोग गरिने ग्यास चूल्हो र भाँडाकुँडा नेपाली कांग्रेसको चुनावी कार्यक्रमका लागि लैजाने क्रममा स्थानीयले बाटोमा रोकेका हुन् ।
स्थानीयका अनुसार विद्यालयका कार्यालय सहयोगीले विद्यालयको ग्यास चूल्हो तथा भाँडाकुँडा बाहिर लैजाँदै गर्दा स्थानीयहरुले रोकेका थिए ।
घटनाबारे बुझ्दा विद्यालयमा कार्यरत शिक्षक नवल किशोर साहले नेताहरूलाई चिया पकाउनका लागि ती सामग्री ल्याइदिन कार्यालय सहयोगीलाई भनेका थिए ।
यस बिषयमा बिद्यालयका प्रधानाध्यापक सुरेश पण्डितसंग बुझ्दा उनले बिद्यालयको सामान पार्टीको कार्यक्रमा लिन खोजेको स्वीकार गर्दै स्थानीयले बाटोमा रोकेपछि उक्त सामानहरु फिर्ता गरेर पनि अहिले विद्यालय मै राखिएको बताए।
पण्डितले भने, "आज सार्वजनिक बिदा भएको कारण म घरमै छु र त्यो बिषयमा मलाई जानकारी भएन, पछि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्युले फोन गरेर मलाई जानकारी दिनुभयो, त्यसपछि मैले बुझेर उक्त समान फिर्ता गर्न लगाए।"
विद्यालयको समान प्राय यसै गरि दुरुपयोग गर्ने गरेको स्थानीयहरुको आरोप छ।
फागुन ९, २०८२ शनिबार १४:२९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।