मत बदर घटाउन कालीकोटमा ‘डेमो भोटिङ’
सुर्खेत : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कालीकोटमा नमुना मतदान अभ्यास गरिएको छ। जिल्ला निर्वाचन कार्यालय कालीकोट र मुख्य निर्वाचन कार्यालयले संयुक्त रूपमा नमुना मतदान कार्यक्रम आयोजना गरेका हुन्।
निर्वाचनका दिन मतदाता र कर्मचारीले अपनाउनुपर्ने प्रक्रिया सिकाउने उद्देश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। विगतका निर्वाचनमा देखिएको बदर मतको समस्या घटाउने र मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक प्रणालीका लागि छुट्टाछुट्टै मतपत्रमा छाप लगाउने तरिका सिकाइएको थियो। मतपत्र बुझ्ने तरिका, स्वस्तिक छाप सही स्थानमा लगाउने विधि, गोप्य कक्षमा जाँदा अपनाउनुपर्ने सावधानी, मतपत्र मोड्ने र सुरक्षित रूपमा मतपेटिकामा खसाल्ने प्रक्रियाबारे चरणबद्ध रूपमा अभ्यास गराइएको थियो।
नमुना मतदानलाई वास्तविक निर्वाचनकै जस्ताे बनाइ महिला, पुरुष, ज्येष्ठ नागरिक तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै तीन लाइनको व्यवस्था गरिएको थियो।
कार्यक्रममा मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
मतदानका क्रममा हुन सक्ने सम्भावित विवाद, मतपत्र च्यातिने वा बिग्रिने अवस्था, मतदाताको पहिचानसम्बन्धी जिज्ञासा, लाइन व्यवस्थापन तथा सुरक्षा समन्वयका विषयमा पनि अभ्यास गराइएको थियो।
साथै मतदान केन्द्रमा खटिने कर्मचारीहरूको जिम्मेवारी, भूमिकाविभाजन र आपसी समन्वयबारे समेत छलफल गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत टंकबहादुर थापाले जानकारी दिए।
यसैगरी प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन नमुना मतदान प्रभावकारी हुने बताए। उनले मतदातालाई सही तरिकाले मतदान गर्न आग्रह गर्दै बदर मत न्यूनीकरणमा सबैको सहयाेग आवश्यक रहेको उल्लेख गरे।
फागुन ९, २०८२ शनिबार १३:१२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।