जय ट्रफी : भीम सार्कीको शतकसँगै आर्मीले पुलिसलाई ९ विकेटले हरायो

जय ट्रफी : भीम सार्कीको शतकसँगै आर्मीले पुलिसलाई ९ विकेटले हरायो

कीर्तिपुर : भीम सार्कीको अविजित शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतले त्रिभुवन आर्मी क्लबले जय ट्रफी मेन्स एलिट कप अन्तर्गतको दुई दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबलाई ९ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको आर्मीले पुलिसलाई पहिलो इनिङ्समा १८७/८ को अवस्थामा रोकेको थियो।

पुलिसका लागि आरिफ शेखले ३६, रसिद खानले ३८ र कुशल भुर्तेलले ३० रन बनाए। आर्मीका पवन कार्कीले ४ विकेट लिँदै पुलिसको इनिङ्स धरासायी बनाए।

जवाफमा आर्मीले पहिलो इनिङ्समा आक्रामक ब्याटिङ गर्दै ४० ओभरमा २३४/९ को स्कोर बनाएर इनिङ्स समाप्तिको घोषणा गर्यो।

आर्मीका लागि भीम सार्कीले शानदार प्रदर्शन गर्दै ११३ बलमा १४ चौका र १ छक्काको मद्दतले अविजित १०५ रन बनाए।

पवन कार्कीले २३ बलमा ३७ र नरेन साउदले २६ बलमा ३१ रनको योगदान दिए। पुलिसका सागर ढकालले ६ विकेट लिए पनि आर्मीलाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन्।

४७ रनले पछि परेको अवस्थामा दोस्रो इनिङ्स सुरु गरेको पुलिसको ब्याटिङ झन् कमजोर साबित भयो। पुलिस ८८ रनमै अलआउट भयो।

कुशल भुर्तेलले ९९ बलमा ४८ रन बनाए पनि अन्य ब्याटरहरू सस्तैमा समेटिए। आर्मीका बसिर अहमदले ४ र कुशल मल्लले ३ विकेट लिँदै पुलिसलाई सानो योगफलमा रोके।

जितका लागि मात्र ४२ रनको लक्ष्य पाएको आर्मीले ५.१ ओभरमा १ विकेट गुमाउँदै ४३ रन बनाएर सहज जित हासिल गर्यो। आर्मीका कुशल मल्लले २४ बलमा अविजित ४२ रन बनाउँदै तुफानी पारी खेले।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका आर्मीका भीम सार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए।

फागुन ९, २०८२ शनिबार १२:०३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।