एप्टिनसँगको सम्बन्धका कारण एन्ड्रयुलाई राजगद्दीको उत्तराधिकारी सूचीबाट हटाउने तयारी
लण्डन : बेलायत सरकारले राजा चार्ल्स तृतीयका भाइ एन्ड्रयु माउन्टबेटन-विन्डसरलाई राजगद्दीको उत्तराधिकारीको मर्यादाक्रमबाट हटाउन नयाँ कानुन ल्याउने तयारी गरिरहेको छ।
बेलायती रक्षामन्त्री ल्युक पोलार्डले बीबीसीलाई बताएअनुसार, प्रहरी अनुसन्धानको नतिजा जे आए पनि एन्ड्रयुलाई भविष्यमा राजा बन्नबाट रोक्नु ‘सही कदम’ हुनेछ।
सरकारले एन्ड्रयुलाई राजगद्दीको नजिक पुग्न नदिन बकिंघम दरबारसँग मिलेर काम गरिरहेको उनले पुष्टि गरेका छन्।
एन्ड्रयु हाल बेलायती राजगद्दीको उत्तराधिकारीको लाइनमा आठौँ नम्बरमा छन्।
बालयौन दुराचारी जेफ्री एप्टिनसँगको सम्बन्धका कारण विवादमा आएपछि गत अक्टोबरमा उनको प्रिन्स लगायतका शाही उपाधिहरू खोसिएको थियो। तर, उपाधि खोसिए पनि उनी उत्तराधिकारीको सूचीमा भने कायमै थिए।
हालै उनीमाथि सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
बिहीबार पक्राउ परेका एन्ड्रयुलाई ११ घण्टाको सोधपुछपछि ‘अनुसन्धानकै क्रममा रहने गरी’ रिहा गरिएको थियो। उनले भने आफूले कुनै पनि गल्ती नगरेको दाबी गर्दै आएका छन्।
शुक्रबार प्रहरीले एन्ड्रयु बस्दै आएको विन्डसरस्थित 'रोयल लज' मा खानतलासी गरेको थियो। त्यहाँ सादा पोसाकका प्रहरी र २० भन्दा बढी गाडीहरू देखिएका थिए।
एन्ड्रयुलाई उत्तराधिकारीको सूचीबाट हटाउन संसदबाट विशेष कानुन पास गर्नुपर्ने हुन्छ।
यसका लागि बेलायती संसदका सांसदहरूको स्वीकृति मात्र नभई क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड लगायत राजा चार्ल्स राष्ट्रप्रमुख रहेका १४ वटा कमनवेल्थ देशहरूको सहमति पनि आवश्यक पर्नेछ।
विपक्षी दल लिबरल डेमोक्र्याट र एसएनपीका सांसदहरूले सरकारको यो प्रस्तावलाई समर्थन गर्ने संकेत दिएका छन्।
लेबर पार्टीका सांसद रचेल मास्केलले पनि एन्ड्रयुलाई उत्तराधिकारी सूची र ‘काउन्सिलर अफ स्टेट’ (राजाको अनुपस्थितिमा काम गर्ने भूमिका) बाट हटाउनुपर्ने बताएकी छन्।
यदि यो कानुन लागू भयो भने सन् १९३६ पछिसंसदको कानुनद्वारा उत्तराधिकारी सूचीबाट हटाइने उनी पहिलो व्यक्ति हुनेछन्।
फागुन ९, २०८२ शनिबार ११:३९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।