चालक निदाउँदा मकवानपुरमा गाडी दुर्घटना, चार जना घाइते

चालक निदाउँदा मकवानपुरमा गाडी दुर्घटना, चार जना घाइते

मकवानपुर : मकवानपुरमा गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

शनिबार बिहान ६ बजे इन्द्रसरोवर गाउँपालिका-२ सुकौरा बेसीस्थित कुलेखानी-काठमाडौं सडकमा स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

बिहान करिब ६ बजे वीरगंजबाट काठमाडौं तर्फ आउँदै गरेको ना ४ च ९७७७ नं.को गाडीका चालक निदाउँदा दुर्घटना भएको कार्यालयले जनाएको छ।  

 गाडी सडकबाट ३० मिटर तल खसेको थियो।

दुर्घटनाको खबर बिहान ६ः३० बजे प्राप्त हुनासाथ प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षक कमल खत्रीको कमाण्डमा पाँच जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो। स्थानीयवासीको सहयोगमा घाइतेहरूलाई उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त स्कारपियो भने घटनास्थलमै रहेको छ ।

दुर्घटनामा कलैया उपमहानगर-२ का ३८ वर्षीय चालक विजय यादव, गाडीका धनी ५० वर्षीय सन्तोषकुमार गुप्ता, उनकी ४० वर्षीया श्रीमती शोभा गुप्ता र १६ वर्गीय अनमोल गुप्ता घाइते भएका छन्।

शोभाको टाउको र कम्मरमा चोट लाग्दा अवस्था गम्भीर रहेको छ। अरू तीन जनाको अवस्था मध्यम छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

फागुन ९, २०८२ शनिबार १०:४३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।