सर्वोच्च अदालतका न्यायाधीशहरूलाई मुर्ख भन्दै ट्रम्पद्वारा १० प्रतिशत नयाँ ‘ग्लोबल ट्यारिफ’ लागू

सर्वोच्च अदालतका न्यायाधीशहरूलाई मुर्ख भन्दै ट्रम्पद्वारा १० प्रतिशत नयाँ ‘ग्लोबल ट्यारिफ’ लागू

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट आयात हुने सामानमा १० प्रतिशत नयाँ भन्सार महसुल (ग्लोबल ट्यारिफ) लागू गरेका छन्।

गत वर्ष लगाइएको यस्तै महसुललाई अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएपछि ट्रम्पले यो नयाँ कदम चालेका हुन्।

ट्रम्पले अदालतको उक्त फैसलालाई ‘निकै खराब’ भन्दै आफ्नो व्यापार नीति खारेज गर्ने न्यायाधीशहरूलाई ‘मूर्ख’को संज्ञा दिएका छन्।

यसअघि सर्वोच्च अदालतले ६-३ को बहुमतबाट ह्वाइट हाउसको पुरानो ट्यारिफ नीतिलाई गैरकानुनी ठहर गरेको थियो। अदालतले राष्ट्रपति ट्रम्पले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर उक्त निर्णय गरेको बताएको थियो।

यो फैसलालाई ट्यारिफको विरोध गर्दै अदालत पुगेका व्यापारी र अमेरिकी राज्यहरूका लागि ठूलो जित मानिएको छ।

अदालतको यो निर्णयसँगै व्यापारीहरूले तिरेको अर्बौं डलर भन्सार रकम फिर्ता (रिफन्ड) पाउने बाटो खुलेको छ। तर, यसले विश्व व्यापारमा भने नयाँ अनिश्चितता पनि थपेको छ।

यद्यपि, शुक्रबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले व्यापारीहरूले सजिलै पैसा फिर्ता नपाउने संकेत गरेका छन्। बिना कानुनी लडाइँ पैसा फिर्ता नहुने बताउँदै उनले यो विषय वर्षौंसम्म अदालतमा अल्झिन सक्ने बताएका छन्।

फागुन ९, २०८२ शनिबार ०७:५९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।