विवाहमा बाजा बजाएको विषयमा सवगढामा झडप, सहमतिमार्फत सामाजिक सद्भाव फर्काउने प्रयास

विवाहमा बाजा बजाएको विषयमा सवगढामा झडप, सहमतिमार्फत सामाजिक सद्भाव फर्काउने प्रयास

चन्द्रपुर : रौतहटको गौर नगरपालिकाको सवगढा गाउँमा सामाजिक सद्भाव कायम गर्न छ बुँदे सहमति गरिएको छ।

बिहीबार राति सवगढा गाउँमा विवाहको समयमा बाजा बजाएको विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिँदा तनावग्रस्त भएको थियो। सोही विषयमा शुक्रबार रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको अध्यक्षतामा बसेको बैठकले सामाजिक सद्भाव कायम गर्न छ बुँदे सहमति गरेको हो।

गौर नगरपालिका-६ सवगढा बस्ने सत्यनारायण साहकी छोरीको विवाहको जन्ती बौधिमाई नगरपालिका-९ सरमुजवाबाट सवगढा आउने क्रममा मस्जिद अगाडि बाजा बजाइएको विषयलाई लिएर मुस्लिम पक्ष र जन्ती पक्षबीच विवाद भएको थियो। विवादमा दुई पक्षबीच ढुङ्गा हानाहान हुँदा तनावग्रस्त भएको थियो। झडपमा प्रहरीसहित दर्जनौं मानिस घाइते भएका थिए।

घटनापछि जिल्ला प्रशासन कार्यालय गौरमा प्रजिअ भुसालको अध्यक्षतामा बैठक बसेको थियो। सो बैठकमा दुवै पक्षका प्रतिनिधि बोलाइ सामाजिक सद्भाव कायम गर्न वार्ता गरिएको थियो।

सामाजिक सद्भाव कायम राख्न सबैलाई संयमता अपनाउन प्रमुख जिल्ला अधिकारी भुसालले आग्रह गरेका छन्। हिन्दू पक्ष र मुस्लिम पक्षबीच सौहार्दपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको प्रजिअ भुसालले जानकारी दिए। दुवै पक्षबीच छ बुँदे सहमति भएको र यही फागुन २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गराउने वातावरण सृजना गर्ने प्रतिबद्धता दोहोर्याइएको उनले बताए।

गए राति भएको झडपमा छ जना घाइते भएकालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। सबैको अवस्था सामान्य रहेको जनाइएको छ। स्थितिलाई नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० राउण्ड अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए। 

फागुन ८, २०८२ शुक्रबार २२:०२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।