८६७ उम्मेदवारले मात्रै खोले बैंक खाता
काठमाडौं : फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ८६७ उम्मेदवारले निर्वाचन खाता खोलेको छन् ।
निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेकाे जानकारी दिइन्।
उनले भनिन्,"निर्वाचन प्रचारप्रसारको लागि अहिले बैंक खाता खोल्नेक्रम एकदमै बढेको छ। जिल्लाबाट आएको विवरण अनुसार अनुसार ७ (सात) राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलिसक्नुभएको छ। आइतबारसम्म धेरैजसो उम्मेदवारहरुले खाता खोलिसक्नुहुने छ भन्ने अपेक्षा छ।"
निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम आयोगले तोकेको २५ देखि ३३ लाख रुपैयाँसम्मको खर्च सीमा कार्यान्वयन गराउन छुट्टै बैंक खाता अनिवार्य गरेकाे छ।
निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ। निर्वाचनसँग सम्बन्धित कारोबार गर्दा सोही खातामार्फत गर्नुपर्ने प्रावधान छ।
निर्वाचनलाई लक्षित गर्दै आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ। यो कार्यविधि निर्वाचन आयोगबाट स्वीकृत भई कार्यान्वयनमा आएपछि दल र उम्मेदवारले छुट्टै बैंक खाता खोल्न थालेका हुन् ।
स्वीकृत कार्यविधि अनुसार निर्वाचनमा भाग लिएका सबै राजनीतिक दल, दलका उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी र खर्च कारोबार सोही खातामार्फत गर्नुपर्ने हुन्छ ।
आयोगले विभिन्न आधारमा भूगोलअनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ। सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक-फरक खर्च सीमा निर्धारण गरिएको छ ।
आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन्। त्यसमा काठमाडौँ क्षेत्र नम्बर १, ३, ६, ७ र ८ छन्।
खर्चको सीमाअनुसार देशभरका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउनेछन्। ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख खर्च गर्न पाउँछन्। यस्तै, ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख खर्च गर्न पाउँछन् ।
समानुपातिकतर्फको निर्वाचनको हकमा भने सम्बन्धित दलले कति जना उम्मेदवार समानुपातिक तर्फको बन्दसूचीमा कायम राखेका छन्। त्यस बमोजिम हरेक उम्मेदवार बराबर दुई लाख खर्च गर्न पाउने गरी खर्चको सीमा तोकिएको छ।
उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने हुन्छ ।
फागुन ८, २०८२ शुक्रबार १८:०८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।